जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । ‘दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक–दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने । 

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन–चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुईस्थानमा मेघगर्जन–चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन–चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।