कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री कार्कीले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ८६  सांसदले समर्थन जनाए । राप्रपका ५  सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।

मतदानमा ९१  सांसदले भाग लिएका थिए ।

शनिबार  नेकपा एमालेका २९ र कांग्रेसबाट विद्रोह गरेका  ८ जना सांसदहरुको  समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएको चार दिनमा विश्वासको मत लिएका हुन् ।  मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने विश्वासको मत दिएन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका मुख्मन्त्री कार्कीले नियुक्त भएको चार दिनमा विश्वासको मत लिएका हुन् ।

सत्ता गठबन्धनको निर्णयविपरीत काँग्रेसमा विद्रोह गरेका कार्की आफूसहित कांग्रेसका ८ सांसदलाई विद्रोह गराएर एमालेको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार शपथ लिएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको २६ गतेसम्मको समयमा कार्कीले एमालेसहितको समर्थनमा र गठबन्धनबाट इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । दुई जनाको ४७–४७ सांसदको दाबी रहेपछि प्रदेश प्रमुखले शनिबार सांसदहरुको हस्ताक्षर सनाखत गराएका थिए ।
जसमा कार्की पक्षका ४७ सांसदले हस्ताक्षर सनाखत गराए । सोही आधारमा उनी मुख्यमन्त्री भए भने आङ्बो सांसदको हस्ताक्षर सनाखत गराउनै गएनन् ।