विजयपुर । धरानमा पछिल्लो समय धारिलो हतियार प्रहारका घटना वृद्धि भइरहँदा प्रहरीको भूमिकामाथि प्रश्न उब्जिएको छ ।

शृङ्खलाबद्ध धारिलो हतियार प्रहार घटना बढिरहँदा पनि शान्तिसुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नियन्त्रणमा चासो नदिएको पीडित परिवार बताउँछन् । सोमबार धरान–१३ को वडा कार्यालयअगाडि खुकुरी प्रहार हुँदा तीन जना घाइते भए । खुकुरी प्रहारबाट धरान–१३ का २० वर्षीय सुजन गुरुङ, २३ वर्षीय सत्यसुन्दर मुखिया, २० वर्षीय रोशन लिम्बू घाइते भए । यस्तै असोज २६ गते धरान–१६ मा धारिलो हतियार प्रहारबाट धरान–११ का २१ वर्षीय मिनाङ्मा चाम्लिङ राई घाइते भए । भदौ ३० गते धरान–१६ मा खुकुरी प्रहारबाट उद्देश्य सुब्बा र कृष्ण डङ्गोल घाइते भए । भदौ २६ गते धरान–१५ को खोरिया बस्तीमा युवाहरूको दुई समूहबीच ‘ग्याङ फाइट’ भयो । ग्याङ फाइटमा धरान–१५ का सन्देश राई गम्भीर घाइते भएका थिए भने विष्णु बेघा सामान्य घाइते भएका थिए । सोही घटनामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पनि तोडफोड भएको थियो । घटना भएको जानकारी गराउँदा पनि प्रहरी नपुगेपछि उपप्रमुख बेघाले फेसबुक लाइभ गरी आफ्नो गुनासो पोखे ।

यस्तै गत साउन ३० गते धरान आदर्श बोर्डिङ स्कुलका विद्यार्थीबीच पनि धारिलो हतियारसहित ग्याङ फाइट भयो । ग्याङ फाइटमा एक जना सामान्य घाइते भएका थिए । उक्त घटनाको प्रत्यक्षदर्शी ब्लाष्टकर्मीले प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरी समयमा पुग्न सकेको थिएन । पछिल्लो दुई महिनाको शृङ्खलाबद्ध घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको नेपाली काङ्ग्रेसका नगर सभापति श्याम पोखरेलले बताए । धरान प्रहरीले यस्ता घटनालाई सामान्य रूपमा लिँदै आएको उनले बताए । धरानको शान्तिसुरक्षाका विषयमा यहाँका राजनीतिक दलले पनि प्रश्न उठाएका छन् । सभापति पोखरेलले भने, ‘धरानमा केही समयदेखि आतङ्क बढिरहेको छ । प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएका थियौँ ।’

जनता समाजवादी पार्टी नेपाल धरानका अध्यक्ष ताजुव लिम्बूले धरानमा सुरक्षा चुनौती बढेको बताए । उनले भने, ‘प्रहरी कार्यालयअघि नै काटाकाटको घटनाले प्रहरी के गरिरहेको छ भन्ने प्रश्न उठेको छ । प्रहरी प्रशासनले भूमिका बढाउनुपर्छ ।’ नेकपा (एमाले) धरानका हर्कजङ एभेङले साङ्घातिक आक्रमणका घटना चिन्ताको विषय बनेको बताउँदै भने, ‘प्रहरीको भूमिका पनि चित्तबुझ्दो छैन ।’ उनले प्रहरी प्रशासनले योजना बनाएर यस्ता घटना नियन्त्रणमा लाग्नुपर्ने बताए । उनले स्थानीय सरकारले पनि शान्ति सुरक्षाका विषयमा प्रमुख भूमिका खेल्नुपर्ने बताए । यता धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले शान्तिसुरक्षाका लागि समन्वय गरिरहेको दाबी गरे । उनले भने, ‘हामीले जानकारी गराउने काम गरिरहेका छौँ । सबै मिलेर नियन्त्रणमा लाग्नुपर्छ ।’ यस विषयमा केही समयअघि इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ललाई धरान–१६ को घटनाका विषयमा जानकारी गराउँदा अन्य स्थानका लागि यस्ता घटना ठूलो भए पनि धरानका लागि सामान्य भएको उत्तर दिए । उनले लागूऔषध प्रयोग गरी हतियार प्रहार गर्ने गरेको भन्दै सामान्यीकरण गर्न खोजे । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता नवीन भण्डारीले भने, ‘जानकारीका लागि समय लिएर आउनुहोस् वा फोनमा समय लिनुहोला ।’ त्यसबाहेक उनले अन्य कुरा बताउन चाहेनन् ।

धरान १५ को घटनामा संलग्न तीनजना थुनामा
विजयपुर । धरान–१५ स्थित खोरिया बस्ती ‘ग्याङ फाइट’ मा संलग्न तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् । सुनसरी जिल्ला अदालतले २०८० भदौ २६ गते खोरिया बस्तीमा दुई समूहबीचको घटनामा संलग्न तीन जनालाई पुर्पक्षका लागी थुनामा पठाएको हो । अदालतले धरान–१५ का विष्णु बेघा, मेनल तामाङ र राज कार्कीलाई थुनामा पठाउने फैसला गरेको हो । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ  । प्रहरीका अनुसार सुरज तामाङ, नवीन तामाङ र युवराज लिम्बूलाई धरौटीमा छाडिएको हो । उनीहरूविरुद्ध भदौ २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । सुनसरी जिल्ला अदालतले असोज २३ गतेको फैसलामा पुर्पक्षमा पठाउने आदेश गरेको हो ।