कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज संसदमा विश्वासको मत लिंदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

दलको निर्णयविपरीत एमालेसँग मिलेर कार्कीसहित कांग्रेसका ८ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेपछि आज कार्कीले सदनमा विश्वासको मत लिन लागेका हुन् । मंगलबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

यसअघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक बस्दै छ । बैठकमा कार्कीलाई विश्वासको मत दिने की नदिने विषयमा छलफल हुने बताइएको छ । कार्कीलाई विश्वासको मत दिने–नदिने निर्णय भएपछि सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल हुने कांग्रेस संसदीय दलका सचेतक भूपेन्द्र राईले जानकारी दिए ।

दलका नेता उद्धव थापाले राजीनामा दिइसकेका छन् । उनले दलको नेताबाट राजीनामा दिए पनि प्रदेशको पार्टीको सभापतिको हैसियतले संसदीय दलको बैठक बोलाइएको सचेतक राईले बताए । 

कोशी प्रदेशमा कांग्रेसले माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत कांग्रेसका प्रदेशसभा सदस्यले संविधानको धारा १६८ (५) अनुसार एमाले सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेबाट राम राना र कांग्रेसकै विद्रोही मध्येबाट शमशेर राई मन्त्री भएका छन् । सत्ता गठबन्धनको निर्णय विपरीत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरे पनि माओवादी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपाले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।

विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन–कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन ।