बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले अर्जुनधाराको एउटा कम्पनीको मात्र पेबर्स लगाउन उपभोक्तालाई दबाव दिने गरेको पाइएको छ ।

पेबर्स उद्योगसँगको मिलेमतोमा नगरपालिकाले सोही कम्पनीको पेबर्स प्रयोग गर्न दबाव दिने गरेको हो । गुणस्तर प्रमाणित भएका अन्य कम्पनीको पेबर्स प्रयोग गर्दा रकम भुक्तानी नगर्ने भएका कारण उपभोक्ताहरू सोही कम्पनीको पेबर्स प्रयोग गर्न बाध्य भएको बताएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएपश्चात् साना गल्ली तथा सडकहरूमा पेबर्स लगाउने अभियान नै सञ्चालनमा छ । यसका लागि प्रत्येक वर्ष नगरबाट करोडौं रकम निकासा हुने गरेको छ । नगरपालिकाले सहजै रकम भुक्तानी दिने गरेका कारण सोही कम्पनीको पेबर्स प्रयोग गर्न बाध्य भएको उपभोक्ताले जनाएका छन् । अन्य उद्योगमा उत्पादित पेबर्सभन्दा निक्कै महँगो मूल्य पर्ने सो उद्योगको उत्पादन प्रयोग गर्नैपर्ने बाध्यता रहस्यमय रहेको उपभोक्ताले बताएका छन् ।

नगरले झापाको अर्जुनधारामा सञ्चालित बिल्डकन इण्डष्ट्रिज प्रा.लि.को मात्र पेबर्स प्रयोग गर्न अनुमति दिने गरेको छ । अन्य कम्पनीको पेबर्स प्रयोग गर्दा रकम भुक्तानी रोक्का गर्ने गरेको उपभोक्ताहरूले आरोप लगाएका छन् । बिर्तामोड नगरपालिका–३ मा रहेको नवदुर्गा टोल विकास संस्थाले १ सय १५ मिटर लामो भित्री सडकमा पेबर्स लगाउनका लागि उपभोक्ता समिति गठन गरेको थियो । ४ मिटर चौडाइ रहेको सो सडकमा पेबर्स बिछ्याउँदा बिल्डकन इण्डष्ट्रिजका प्राविधिकले ६ लाख २३ हजार ४ सय ६५ रुपैयाँ लगानी पर्ने बताएको उपभोक्ता समितिका अध्यक्ष मोहन ढकालले जानकारी दिए ।

वडा कार्यालयले करसहित ५ लाख रुपैयाँ मात्र विनियोजन गरेको थियो । रकम अपुग हुने भएपछि उपभोक्ताहरूले विनियोजित रकम बराबरमा काम गर्न सक्ने कम्पनीको खोजी सुरु गरेका थिए । सोही क्रममा भद्रपुरको लक्ष्य ब्रिक एण्ड मेटल इण्डष्ट्रिजले विनियोजित रकममा पेबर्स लगाउन सकिने बतायो । उद्योगका सञ्चालक सूर्य श्रेष्ठले त्यस सडकमा वडाबाट विनियोजित रकमको करबाहेक ४ लाख ६५ हजार रुपैयाँमा पेबर्स लगाएका छन् । बिल्डकनले बिर्तामोडका सडकमा ६० एमएमको पेबर्स बिछ्याउँदै आएको छ । बिल्डकनले उत्पादनको २ वर्ष ग्यारेन्टी दिने गरेको सञ्चालक नवीन गट्टानीले बताए । त्यसैगरी थप ३ वर्ष फुटेको ठाउँको पेबर्स परिवर्तन गरिदिने उनले बताए । त्यसपछि कम्पनीको कुनै दायित्व नहुने जानकारी उनले दिए । तर, नगरपालिकाले लगातार सोही कम्पनीको पेबर्स मात्र प्रयोग गर्न उपभोक्तालाई दबाव दिनु चाहिँ रहस्यको विषय बनेको छ ।

नवदुर्गा टोलले काम लगाइरहेको कम्पनी लक्ष्यले भने १० वर्ष ग्यारेन्टी दिने गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए । ‘१० वर्षभित्रमा टुट–फुट भए हामी आफै परिवर्तन गरिदिन्छौँ’ श्रेष्ठले भने, ‘८० एमएमको पेबर्स हामीले प्रयोग गर्ने गरेका कारण जतिसुकै लोड बोकेको सवारी साधनलाई पनि प्रवेश गर्न दिन सकिन्छ ।’ नगरपालिकाले भने बिल्डकन इण्डष्ट्रिजको पेबर्स प्रयोग नगरे रकम भुक्तान गर्न आलटाल गर्ने गरेको आरोप उपभोक्ताको छ । नेपाल गुणस्तर (एनएस) को नाममा एउटै उद्योगबाट उत्पादित पेबर्स निरन्तर प्रयोग गरिनु रहस्यमय छ । नगरपालिकाले ग्यारेन्टी थोरै भएको तथा लागत बढी पर्न जाने सो पेबर्सको विकल्प खोज्नुपर्ने उपभोक्ताको भनाइ छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा मात्र ४ दशमलव ४४ किलोमिटर पेबर्स बिछ्याएको बताएको छ । यही हिसाबले रकम खर्च हुँदा करोडभन्दा माथिको चलखेल हुने अनुमान गर्न सकिन्छ । बिल्डकनको मात्र पेबर्स खरिद गरेको भन्दै सरोकारवालाले केही समय अघि त्यसको विरोध पनि गरेका थिए । तर, हालसम्म नगरपालिकाले स्थानीयको विरोधलाई सम्बोधन गरेको छैन । स्थानीयका अनुसार बिल्डकनबाट ठूलो कमिसन आउने भएकाले त्यही कम्पनीको उत्पादनलाई मात्र सिफारिस गर्ने गरेको आरोप छ । नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले मापदण्ड नपुग्ने कम्पनीको उत्पादन प्रयोग गर्न नदिएको बताएका छन् । उनले बिल्डकनले एनएस चिन्ह प्राप्त गरेकाले सोही कम्पनीको पेबर्स प्रयोग हुँदै आएको जानकारी दिए । नगरपालिकाले बिल्डकनमा मात्र नभई नदीजन्य सामग्री खरिदमासमेत सिण्डिकेट प्रयोग गरेर कमिसन लिने गरेको आरोप छ ।