भद्रपुर । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घूस रकमसहित पक्राउ परेका छन् ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको टोलीले सोमबार दिउँसो नापी कार्यालयका सर्भेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घूस रकमसहित पक्राउ गरेको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घूस रकम मागेका थिए ।

भद्रपुर– ७ स्थित एक फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ ।

सर्भेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा बस्दै आएका थिए । सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ ।