धनकुटा । धनकुटाको हिले स्थित उज्यालो मेडिकलमा उपचारको क्रममा धनकुटा आँखीसल्लाकी एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल सञ्चालकबीच उत्पन्न विवाद मङ्गलबार साँझ समाधान भएको छ ।

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ६ आँखीसल्लाकी ५३ वर्षीया विष्णुमाया राईको उपचारको क्रममा हिलेस्थित उज्यालो मेडिकल हलमा मृत्यु भएको थियो । ग्यास्टिकको सुई लगाएर निस्किएको बिरामी बजारको केही तलसम्म हिँडेर पुगेको र अचानक बेहोस भई ढलेकोले पुनः बिरामीलाई उज्यालो मेडिकल पुर्याउँदा मृत्यु भएको एक प्रत्यक्षदर्शीले ब्लाष्टलाई बताए ।

मङ्गलबार बिहान आफै हिँडेरै अस्पतालसम्म आएकी राईको मेडिकलमा दिइएको सुईको कारण मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । ४ दिन देखि छाती दुखेकोले राई एक्स–रे गराउन आएको बताइएको छ । आक्रोशित मृतकका आफन्तले ढुङ्गामुढा प्रहार गरी मेडिकलको सिसा फुटाइदिएका छन् । सञ्चालक ललित घिमिरे र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारबाही गरिनुपर्ने माग गर्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

साँझमा पीडितका आफन्त र अस्पताल सञ्चालकबीच भएको छलफलपछि भने मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरूप उज्यालो मेडिकलले साढे ५ लाख रुपैयाँ दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।