धरान–१६ स्थित युएन कलेजले होटल व्यवस्थापनतर्फ स्नातक तह फस्ट सेमेस्टरमा कोशी प्रदेशमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

सोमबार कलेजमा कार्यक्रम आयोजना गरी कोशी प्रदेशमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई सम्मान गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा २०८० सालमा सञ्चालित  फस्ट सेमेस्टरको परीक्षामा ३ दशमलव ९३ जिपिए ल्याई प्रदेश उत्कृष्ट भएकी स्मारिका श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

३ दशमलव ८९ जिपिए ल्याई प्रदेश द्वितीय बनेकी रोजिना राईलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, ३ दशमलव ८७ जिपिए ल्याई प्रदेश तृतीय भएकी सिम्रन तामाङलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।  

UN College Student (1)

उनीहरूलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल डम्बरकुमार तुम्बापो, बिएचएम कोर्डिनेटर गगनमान श्रेष्ठलगायत फ्याकल्टीले सम्मान गरे । 

कलेजका अध्यक्ष झाले कलेजका विद्यार्थी संयोगवस उत्कृष्ट नभई शिक्षक, विद्यार्थी कलेजको मिहिनेतले भएको बताए । प्रिन्सिपल तुम्बापोले भने, ‘कलेजको नतिजा उत्कृष्ट भएको विषयमा धेरैको जिज्ञाशा आउँछ । 

त्रिभुवन विश्वविद्यालयका बिएचएम अध्यापन गराउने कलेजहरू सीमित छन् । त्रिविले सबै नतिजा कलेजलाई फर्वाड गरिदिन्छ । नतिजा विश्लेषण गरेर छुट्याउँछौ ।’ 

बिएचएमतर्फकी कोशी प्रदेश उत्कृष्ट स्मारिका श्रेष्ठले कलेजमा गुणस्तरीय शिक्षणसिकाइ क्रियाकलापका कारणले उत्कृष्ट हुन सफल भएको बताइन् ।