कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन् । ‘एमालेसहित अन्य दलसँग मुख्यमन्त्रीले छलफलअघि बढाउनु भएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘सम्भवत आज संसद सचिवालयलाई यसबारे जानकारी गराइनेछ ।’

कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ । एमालेका ३९ र विद्रोही कांग्रेसका ८ जना सांसदले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।

Pradesh sabha sachibalaya notice