विजयपुुर । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने चार उद्योगविरुद्ध पाँचवटा मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीले न्यून गुणस्तरका वस्तु उत्पादन र बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने उद्योगविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाकी खाद्य निरीक्षक तथा सूचना अधिकारी बादल चेम्जोङका अनुसार दिव्याश्वरी जल कम्पनीविरुद्ध मुद्दा दायर भएको छ । दिव्याश्वरीविरुद्ध कार्यालयले असोज २३ गते दूषित खाद्यपदार्थ वा न्यून गुणस्तरको खाद्य उत्पादन र बिक्री वितरण, निकासी, पैठारी गरेको कसूरमा मुद्दा दायर गरेको हो । दिव्याश्वरीको धरानस्थित एक व्यवसायीको पसलले बिक्री गरेको पानीको बोतलमा किराजस्तो अखाद्य वस्तु फेला परेको थियो ।

यस्तै हिमधारा कम्पनी प्रा.लि. इटहरीविरुद्ध पनि मुद्दा दायर भएको छ । हिमधारा कम्पनी अन्तर्गत उपहार ब्राण्डको पानीको बोतलमा अखाद्य वस्तु फेला परेको सूचना अधिकारी चेम्जोङले जानकारी दिइन् । उनले भनिन्, ‘पानीको बोतलमा एक पटक कालो पदार्थ र अर्को पटक काठको टुक्रा फेला परेको थियो ।’

हिमधाराविरुद्ध असोज १४ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको हो । गोरखा प्याकेजिङ उद्योग इटहरीविरुद्ध पनि मुद्दा दायर भएको छ । गोरखाले न्यून गुणस्तरको मैदा उत्पादन तथा बिक्री वितरण गरेको कसूरमा असोज १० गते मुद्दा दायर भएको हो ।

पशुपति खाद्य तेल उद्योग सोनापुर सुनसरीविरुद्ध वनस्पति घ्यूमा एसिडको मात्रा (भ्यालु) बढी भेटिएको थियो । न्यून गुणस्तरको वनस्पति घ्यू उत्पादन र बिक्री वितरण गरेको कसूरमा असोज १७ गते मुद्दा दायर भएको हो । यी उद्योगलाई खाद्य ऐन २०२३ को दफा ३ बमोजिम कसूर गरेको तथ्य पुष्टि भएकाले ऐनको दफा ५ बमोजिमा कैद सजायको माग दाबी गरिएको छ ।

दफा ५ (१) मा दफा ३ अनुसारको कसूर गर्नेलाई ५ वर्षसम्म कैद वा ५० हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । सूचना अधिकारी चेम्जोङले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने ३० भन्दा बढी खाद्यपदार्थको मुद्दा अनुसन्धानको क्रममा रहेको जानकारी दिइन् ।