भद्रपुर । राष्ट्रिय भूमि आयोगबाट झापाको हल्दीबारी गाउँपालिकामा खटिएका ३ जना कर्मचारीहरू भ्रष्टाचार गरिरहेको अवस्थामा रङ्गेहात फेला परेका छन् ।

घटना सार्वजनिक भएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले कानूनी दायरामा ल्याउन सोमबार जिल्ला प्रशासन कार्यालय झापामा बुझाएका छन् । हल्दीबारी–१ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको थियो ।

पीडित  पौडेलले जुम्ला सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका–४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका–८ का २३ वर्षीय कमल खनालविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गरेका छन् ।

१ नं. वडाका वडाध्यक्ष देवीबहादुर थापाले भ्रष्टाचारीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने भन्दै कारबाहीको माग गरेका छन् । यसैगरी कार्यपालिका सदस्य शान्ता शिवाकोटीले रातको १२ बजे उनको कोठाबाट नगदसहित पक्राउ परेका उनीहरूलाई कसैले दबावमा छुटकारा दिएर भ्रष्टाचार गर्न प्रोत्साहन गर्न नमिल्ने जिकिर गरेकी छन् ।

यता पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले स्थानीयबाट गुनासो आए पनि पर्याप्त प्रमाण फेला परिनरहेको अवस्थामा आइतबार राति पौडेलबाट ८० हजार रुपैयाँ लिएर ३९ हजार ६ सय रुपैयाँको मात्र बिल काटेको सूचना आएपछि घटना बाहिर आएको उनले बताए । भ्रष्टाचार सानो–ठूलो नभई अपराध गर्नेले कानूनी कारबाही भोग्नै पर्ने उनले जनाए ।