सुनसरीको दुहबी र इटहरीको  होम्समा बुधबार सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।  

दुहबी–८ कदमगाछीस्थित कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३० प ९९७२ नम्बरको स्कुटर  र पूर्वबाट आएर उत्तरतर्फ बाटो पार गर्दै गरेको को २ च ३६ नम्बरको पिकअप गाडी ठोक्किंदा स्कुटर चालक इटहरी–२ का उत्तम राई घाइते भएका छन् । 

उनको बाँया पट्टीको हातको कुममा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्कुटरमा पछाडि सवार घाइते राईकी श्रीमती विष्णुकुमारीको अवस्था सामान्य रहेको छ । पिकअप गाडी, स्कुटर र पिकअप चालक मोरङ बेलबारी–६ का विमल चौधरीलाई ईप्रका दुहबी पठाइएको छ । चालकको सडकमा ध्यान केन्द्रित नहुँदा  दुर्घटना भएको प्रहरीको भनाइ छ । 

यस्तै इटहरी–२ होम्स चोकस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिआर५०पी २२२६ नं. को स्कारपियोले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका साइकलयात्री नीरकुमार श्रेष्ठकी १४ वर्षीया छोरी रोश्निता श्रेष्ठलाई ठक्कर दिंदा घाइते भएकी छन् । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।  घाइतेलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाइएको छ । 

स्कारपियो र चालक भारत सुपौलका कृष्णकुमार साहलाई इप्रका इटहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

हिजो ट्राफिक प्रहरीले सुनसरी जिल्लामा ९२ वटा ट्राफिक कारबाही गरेको छ । कारबाहीबाट ६४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । 

ट्राफिक प्रहरीले १२ पटकमा १८० जनालाई ट्राफिक सचेतनामा सहभागी गराएको छ ।