कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने भएका छन् । 

प्रदेशसभाको चौंथो अधिवेशन आजबाट सुरु भएको छ । कार्कीले २० गते विश्वासको मत लिने भएका छन् । 

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ (३) अनुसार कार्की मुख्यमन्त्री भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कार्कीले असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।  

विश्वासको मत नपाए मुख्यमन्त्री कार्की स्वतः पदमूक्त हुनेछन् भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

मुख्यमन्त्री कार्कीलाई एमालेबाहेकले विश्वासको मत नदिने भएका छन् । यसअघि एमालेकै कित्तामा उभिएको राप्रपाले पनि यसपटक मत नदिने भएको छ । जसको कारण कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कमजोर छ । 

प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।