हिन्दू धर्मगुरु आचार्य श्रीनिवासलाई रिहा गर्न माग गर्दै हिन्दूवादी युवाले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

जनकपुरधामको रामानन्द चोकमा  हिन्दू सम्राट सेना नेपाललगायतका हिन्दूवादी युवाले आज दिउँसो श्रीनिवासको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् । 

हिन्दू धर्मको रक्षाका लागि अभिव्यक्ति दिँदा पक्राउ गरिएको भन्दै हिन्दूवादीले सरकारमाथि आक्रोश पोखेका छन् ।  गौ हत्या गर्ने र हिन्दूमाथि आक्रमण गर्नेलाई सरकारले पक्राउ नगरेको उनीहरुको आरोप छ । 

रामानन्दीय वैष्णव संघले आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै धर्मगुरु श्रीनिवासको रिहाइको माग गरेको छ । संघले पक्राउ परेका श्रीनिवासलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । 

Shree nivas Rihai Aandolan (1)

श्रीनिवासको रिहाइको माग गर्दै भोलि जनकपुरधाममा शान्तिपूर्ण र्याली निकाल्नेसमेत घोषणा गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रोशन दास ‘वैष्णव’ले आत्मरक्षाका लागि दिएको अभिव्यक्तिलाई गलत व्याख्या गरेको बताए । 

गौहत्या गर्ने जोकोहीको हत्या गरेर आए आफूले जिम्मा लिने अभिव्यक्ति दिएको आरोपमा श्रीनिवासलाई हिजो काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान व्युरो र प्रादेशिक व्युरोले वराहक्षेत्रस्थित आश्रमबाट पक्राउ गरेको थियो ।

धनुषाको एक धार्मिक कार्यक्रममा श्रीनिवासले हिंसात्मक अभिव्यक्ति दिएका थिए । धनुषा प्रहरीमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ । 

Hindu Samrat Sena