नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशमा सहमति, सहकार्य र समन्वय गरिनुको कुनै विकल्प नरहेको बताएका छन् । 

कोशी प्रदेशसभाको चौंथो अधिवेशनको पहिलो बैठकमा बोल्दै थापाले मुख्यमन्त्रीको कुर्सी मात्र बदल्ने तिर नगएर सहमति सहकार्य गरेर अगाडि बढनुपर्ने बताएका हुन् । 

‘कहिलेसम्म कुर्सीको खेलमा लाग्ने हो? हामीले गम्भिरताको साथ सोच्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘मध्यावधिमा जान नदिनको लागि प्रदेश सभामा रहेका दल मिल्नुको विकल्प छैन । त्यसैले हामी सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढौं ।’

सरकार बनाउने होडबाजीको कुरा छोडेर सहमति सहकार्य र एकता गरेर अगाडि बढ्नुपर्ने उनले बताए । 

‘हाम्रो रहर पनि पूरा भइसक्यो । कसरी यो प्रदेशलाई अगाडि बढाउन सकिन्छ त्यसतिर लाग्नुपर्नेछ । सबैले ठूलो छाती बनाऔं । प्रदेश र प्रदेशवासीको समस्या बुझौं र त्यसमा लागौं । त्यसको लागि नेपाली काँग्रेस तयार छ,’ पूर्वमुख्यमन्त्री थापाले भने, ‘अब मिलेर जानुको विकल्प छैन ।’ 

दुई महिनामा दुई पटक मुख्यमन्त्री भएर आफूले एउटा इतिहास बनाएको उनले बताए । ‘त्यसमा म गर्व गर्छु । इतिहास रच्ने बेला भएको छ,’ उनले भने ।