इनरुवा । स्वास्थ्य कार्यालय सुनसरीले अस्पताल रोडमा सञ्चालनमा रहेको सफल डेन्टल क्लिनिक बन्द गराएको छ ।
क्लिनिक मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै स्वास्थ्य कार्यालयले सेवा बन्द गरी ‘सिल’ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, इनरुवा अस्पतालका डेन्टल सर्जन डाक्टर धीरज मण्डल र प्रहरीसहितको उपस्थितिमा स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख राजकुमार मेहता नेतृत्वको टोलीले सफल डेन्टल क्लिनिक सिल गरेको हो ।

सिल गर्ने क्रममा निमित्त कार्यालय प्रमुख मेहताले क्लिनिक सञ्चालकले यसअघिको निर्देशनलाई अटेर गर्दै आएकाले कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

उनले सफल डेन्टल क्लिनिकले मानव स्वास्थ्य संवेदनशीलतालाई ख्याल नगरी उपचार गर्ने गरेकोजस्ता जनगुनासाहरू कार्यालयमा प्रशस्तै आउने गरेकोसमेत बताए ।

मेहताले अनुगमनको क्रममा डेन्टल क्लिनिक मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले सिल गरी सञ्चालकलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताए ।

सफल डेन्टलको हकमा काउन्सिल दर्ता प्रमाण–पत्रको म्याद सकिएको, उपचार सेवा डाक्टरको उपस्थिति विना आफूखुसी गर्ने गरेको र नेपाल सरकारको नियमअनुसार क्लिनिक सञ्चालनमा रहेको नपाइएको निमित्त प्रमुख मेहताले बताए ।

मेहताले अनुगमनको क्रममा केही क्लिनिक सञ्चालक सटर झारेर भागेको समेत बताए । उनले अनुगमनको कार्यलाई निरन्तरता दिइने भन्दै कानूनविपरीत रहेका सबैलाई कानूनी दायरामा ल्याइने बताए ।

स्वास्थ्यको टोलीले क्लिनिक सिल गर्ने क्रममा सञ्चालक बेचन मेहताले प्रतिवाद गर्न खोजेका थिए । उनले विना दर्ता क्लिनिक सञ्चालन गर्ने धेरै रहेको भन्दै अरूलाई छाडेर आफूलाई मात्र ‘टार्गेट’ गरिएको भन्दै गुनासो पोखेका थिए । सो क्रममा उनका छिमेकी क्लिनिक सञ्चालकसमेत प्रहरीसँगको विवादमा उत्रिएका थिए ।