धरानका मेयर हर्कराज राई (साम्पाङ) को मानसिक अवस्थाबारे फेसबुकमा टिप्पणी हुने गरेको कार्यपालिका बैठकमा कुरा उठेको छ । 

कार्यपालिका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले फेसबुकमा मेयरलक्षित टिप्पणी आउने गरेको आज सोमबार बसेको कार्यपालिका बैठकमा सुनाएका छन् । 

मेयरप्रति कटाक्ष गर्दै वडाध्यक्ष भट्टराईले धरानको कुर्सीमा बसेर धरानको सिंगो वातावरण खल्बल्याउने काम गरेको आक्षेप लगाए । उनले मेयरको गतिविधि र सामाजिक सञ्जालको टिप्पणीले चिन्ता भएको बताए । 

‘फेसबुकमा यदाकदा देखिन्छ, – मैले भनेको होइन है, मेयर सा’ब नरिसाउनु होला । फेसबुकमा आउने गर्छ – तिमीहरुको मेयरको के छ हौ मानसिक अवस्था ? खै व्यवहारमा त देख्दिनँ भनेर फेसबुकमा आउने गर्छ ।’ वडाध्यक्ष भट्टराईले मेयर साम्पाङलाई कार्यपालिका बैठकमा प्रश्न गरे– ‘कि हामीले सोच्नुपर्ने अवस्था आएको हो धरानको ? कि त्यो अवस्था हो मेयर साबको ?’ 

वडाध्यक्ष भट्टराईले आफूलाई सामाजिक सञ्जालमा जनताले प्रश्न गर्ने गरेको कार्यपालिका बैठकमा सुनाए । 

वडाध्यक्ष भट्टराईले आक्षेप लगाउँदै भने– ‘धरानको कुर्सीमा बसेर धरानको सिंगो वातावरण खल्बल्याउने जुन काम गर्नु भएको छ तपाईंले, हुन त तपाईं विश्वमा म भन्दा जान्ने र बुझ्ने को छ र ? भन्नु हुन्छ, अरुले तपाईं भन्ने कुरा हो, आफैं मपाईं भन्नु हुन्छ, यस प्रति दुःख व्यक्त गर्न चाहान्छौं हामी, खेद व्यक्त गर्न चाहान्छौं ।’ 

वडाध्यक्ष भट्टराईले कार्यपालिका बैठकबाटै सन्देश दिंदै भने– ‘धरान धमिलो पानीमा माछा मार्न चाहानेहरुका लागि विश्वास गर्दैन । धराने जनता हिजो पनि मिलेर बसेका थिए, आज पनि मिलेर बस्छन् ।’ उनले धार्मिक र जातीय हिसाबले सद्भावयुक्त धरान बनाउने कुरामा शरीरमा सास रहुन्जेलसम्म दृढतापूर्व उभिने बताए । ‘पर्खाल भएर उभिन्छौं, सिंगो कार्यपालिका ।’

Karyapalika Baithak Dharan (1)

भट्टराईले यसो भनिरहँदा कार्यपालिका बैठक तालिले गुञ्जयमान भएको थियो । 

‘धरानमा चारकुनामा प्रहरी नै प्रहरी राखेर धरानलाई विश्वका आँखामा अब धरानमा आगो बल्न आँट्यो धरानबाट जातीय धार्मिक युद्धको शंखघोष हुन आँट्यो मुलुकमा, भन्ने परिस्थिति निर्माण भइरहँदा सिंगो राज्यको संयन्त्र लागि पर्दा, हाम्रो प्रमुखको आँखा कहाँ थियो ? वडाध्यक्ष भट्टराईले मेयर साम्पाङलाई प्रश्न गर्दै भने, ‘यसलाई प्रष्ट गर्न अनुरोध गर्दछु ।’

उनले उमेर हद भन्दै कर्मचारी निकाल्दा कार्यपालिकामा छलफल नगरेको र अहिले तिनै कर्मचारी राख्न लाग्दा कार्यपालिकामा छलफल गर्न खोजेको बताए । ‘के तपाईंका घरमा भाँडा माझ्न बसेका मान्छे हुन् ? निकाल्दा छलफल गर्नुपर्छ कि पर्दैन ? कसलाई सोधेर निकाल्नु भयो ? राख्न लाग्दा छलफल गर्नुपर्ने ?’ भट्टराईले कार्यपालिका बैठकमा मेयर साम्पाङलाई प्रश्न गरे ।  

‘नगरपालिका टाँट पल्टिन लाग्यो, वडामा बजेट छैन । पोहोरको दायित्व तिरिसकिएको  छैन । कर्मचारी भर्ती गरेको गरै हुनुहुन्छ । हिजो झोले भन्दै गेटमा उफ्रिनुहुन्थ्यो, आज तपाईंका झोले झ्याम्टाहरु सबै चाहिं राख्नु भएको छ । म कार्यपालिकालाई सोध्नु चाहान्छु, तपाईंलाई कसले अधिकार दियो सही गर्ने हँ ?’ वडाध्यक्ष भट्टराईले प्रश्न गरे– ‘आज तपाईंका चुनावी अभियानकर्ताहरु सहपाठीहरु खोलामा ढुंगा बोक्नेहरु खानेपानीका कर्मचारी भएका छन् । तपाईंका हरेक मान्छेहरु जागिरे भइरहेका छन् । जागिर त  ८४ सम्मका लागि त होला नि । यो नगर त हामीले चलाऔं ला नि । हेरौं ८४ मा तपाईंको ।’

वडाध्यक्ष भट्टराईले तत्काल राजीनामा गरेर जनमत लिन साम्पाङलाई चुनौती दिए । ‘म तपाईंलाई च्यालेञ्ज गर्न चाहान्छु म अहिले राजीनामा गर्न तयारी छु, जनताको जनमत लिन । तपाईं राजनीनामा गर्न तयार हुनुहुन्छ ? तपाईंका लागि म अहिले राजीनामा गर्न तयार छु, तपाईं तयार हुनुहुन्छ ? म तयार भएर आएको छु । किनकि चुनाव हारें भने धरान छाड्दिन्छु, राजनीति छाड्दिन्छु । मेरो तपाईंलाई चुनौती भयो ।’ वडाध्यक्ष भट्टराईको चुनौती सुनिरहेका साम्पाङ मुसुमुसु हाँसेका थिए ।

Karyapalika Baithak Dharan (2)

मेयर साम्पाङले धरानलाई बिगारेको वडाध्यक्ष भट्टराईले आरोप लगाए । उनले भने– ‘धरानलाई यसरी बिगार्न पाइन्छ ? आज मपाईंभन्दा मजा आउँदैन तर तपाईं यो चिन्तनबाट प्रेरित हुनुहुन्छ ।’ 

कर्मचारीप्रति लक्षित गर्दै वडाध्यक्ष भट्टराईले मेयर साम्पाङको एकल निर्णयमा सहभागी भएको बताए । कर्मचरीलाई वडाध्यक्ष भट्टराईले भने – ‘जुन तपाईंहरु एकल निर्णयबाट काम गर्दै हुनुहुन्छ त्यो निर्णयको भागिदार तपाईंहरु पनि बन्नुहुन्छ । कार्यपालिकाको बैठकबिनै टिप्पणीको आधारमा काम गर्न हुन्छ ? तपाईंलाई कसले अधिकार दियो ?’

वडाध्यक्ष भट्टराईले आफूसँग एकल निर्णयको लिस्ट भएको बताए । कर्मचारीले अहिले जनैमा चाबी लुकाएजसरी कागजपत्र लुकाइएको बताए । उनले ती कागजपत्र भोलि खोजिने बताए । ‘हामी त्यो डेटा ८४ मा सार्वजनिक गर्छौं । कर्मचारीलाई हेक्का होस् ।’ 

धरान उपमहानगरपालिकालाई मेयर साम्पाङले निजी कम्पनीजस्तो र स्टेकहोल्डरलाई कामदार जस्तो गरेको वडाध्यक्ष भट्टराईले आरोप लगाए ।