धरान । प्याब्सन एन्फा सुनसरी प्रेसिडेन्ट कप इन्टरस्कुल फुटबल टुर्नामेन्टको उपाधि वराहक्षेत्रको सिद्धार्थ बोर्डिङ स्कुलले जितेको छ । लिगका आधारमा धरानको एन्फा एकेडेमीको मैदानमा आइतबार भएको फाइनल खेलमा नौ अङ्क प्राप्त गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै दुहबीको महेन्द्र मेमोरियल एकेडेमीले तीन पोइन्ट प्राप्त गर्दै दोस्रो बनेको छ । उसले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष नवीन राईले जानकारी दिए । इटहरीको हिमशिखर बोर्डिङ स्कुलले पनि तीन पोइन्ट नै प्राप्त गरे पनि गोल सङ्ख्याको आधारमा तेस्रो बनेको छ ।

यस्तै धरानको होलिल्यान्ड इन्टरनेसनल स्कुलले पनि तीन पोइन्ट प्राप्त गरे पनि अङ्क तालिकामा पुछारमा रहेको छ । तेस्रो र चौथो बनेका स्कुलले क्रमशः नगद १० हजार र ७ हजार रुपैयाँसहित ट्रफी पाएको छ । यस्तै व्यक्तिगत पुरस्कार पनि प्रदान गरिएको छ । भदौ २९ गतेदेखि नकआउट चरणको खेल सुनसरीको इटहरी र वराहक्षेत्रको भरौलमा सम्पन्न भएको थियो । प्रतियोगितामा ३२ वटा स्कुलहरू सहभागी भएका थिए ।

त्यसमध्ये फाइनल राउन्डमा चारवटा टिम पुग्न सफल भएका थिए । प्याब्सन सुनसरीको संयोजनमा भएको प्रतियोगितामा विजेताहरूलाई एन्फा प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई, प्याब्सनका केन्द्रीय सदस्य दीव गुरागाईं, प्याब्सनका प्राज्ञिक सल्लाकार डा. वेणुप्रसाद सिटौला, प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुमित थापा, प्रदेश सदस्य उमेश थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कारहरू विभिन्न व्यक्तित्वहरूले सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार ट्रफी, मेडल तथा प्रमाण–पत्रको प्रायोजन प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर राई, पहिलो नगद पुरस्कार धरानको चिल्डे«न्स एकेडेमीका उत्तम गुरुङ, दोस्रो पुरस्कार कोशी प्रदेश फुटबल सङ्घ, तेस्रो नगद पुरस्कार सेन्ट जोसेफ स्कुलका श्रीधन राई र चौथो नगद पुरस्कार धरान मोडलका दीपक घिमिरेले प्रदान गरेका थिए भने व्यक्तिगततर्फ प्याब्सनका जिल्ला कोषाध्यक्ष दीपक कार्कीले प्रायोजन गरेका थिए ।