धरान । नक्कली भारतीय नोटसहित सुनसरीका एक युवा शनिबार मोरङ विराटनगर महानगरपालिका–६ बाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी रहेका छन् । भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी पैसा तिर्ने क्रममा उनले दिएको भारतीय नोट नक्कली भएको शङ्का लागेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरको टोलीले उनको साथबाट दुई सय दरका २० वटा र पाँच सय दरका सातवटा गरी कुल ७ हजार पाँच सय भारतीय नक्कली नोट बरामद गर्न सफल भएको छ ।

उनले प्रयोग गरेको बा.१६ च ७६१३ नम्बरको कारसहित नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीमाथि मुद्रासम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी होटल एन्ड लजबाट ब्राउनसुगरसहित दुईजनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका–४ का २१ वर्षीय उत्तम दर्जी र इलाम सूर्योदय नगरपालिका–२ की २० वर्षीया सन्ध्या विश्वकर्मालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक ग्राम नौ सय मिलिग्राम ब्राउनसुगर र पाँच हजार ५ सय रुपैयाँ नगद र तीन थान मोबाइल बरामद गरिएको छ । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर अनुसन्धान सुरु गरिएको छ ।