नेकपा एमाले कोशी प्रदेश अधिवेशनको आज दिउँसो हुने निर्वाचनमा मा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । 

यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ, सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारी तथा दुई जना उपसचिवका लागि सङ्खुवासभाका भगिश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलवर्षा राजवंशी र मोरङका खेम नेपाली रहेका छन् । 

अध्यक्षका प्रत्याशी खतिवडाले आफ्नो प्यानलमा उपाध्यक्ष टीका चेम्जोङ, सचिवमा राजकुमार भण्डारी तथा उपसचिवमा देउमान राई र जल वर्षा राजवंशीलाई समावेश गरेका छन् । 

उपाध्यक्षमा भने टीकाराम चेम्जोङको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै विनोद ढकालपक्षले पनि उपाध्यक्षमा चेम्जोङलाई नै राखेका छन् भने सचिवमा शैलेश लामा तथा उपसचिवमा भविश्वर गुरुङ र खेम नेपालीलाई राखेर प्रचार गरिरहेका छन् ।

स्रोतका अनुसार दुवै पक्षले आ–आफ्ना प्यानल बनाएका छन् । गुट र प्यानल नबनाउन एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले दिएको निर्देशन विपरीत कोशी प्रदेशमा प्यानलको अभ्यास सुरु भएको हो । 

भित्रभित्रै उनीहरुले प्यानलको लिस्ट बाँडिरहेको अधिवेशनमा सहभागी प्रतिनिधिहरूले बताएका छन् । 

प्रदेश कमिटीको सदस्यमा इलाम जिल्लाबाट १५ जना निर्विरोध निर्वाचित भएका छन् । इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

विराटनगरमा शुक्रबारदेखि जारी अधिवेशनबाट नेतृत्व चयन सहमतिबाट गर्ने प्रयास असफल भएपछि शनिबार अबेर उम्मेदवारी दर्ता भएको हो ।  

अध्यक्षका उम्मेदवार ढकाल अहिले पनि एमालेका केन्द्रीय सदस्य हुन् । खतिवडा कोशी प्रदेश प्रचार विभागका प्रमुख हुन् ।

२०६६ सालमा एमालेको मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका यी दुईमध्ये त्यसबेला ढकालले सफलता पाएका थिए । त्यसबेला ढकाल केपी ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए । जिल्ला अध्यक्षमा भिडेको १४ वर्षपछि प्रदेश अध्यक्षमा आमनेसामने भएका दुई नेताबीचको प्रतिस्पर्धामा प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यहरू पनि दुई तिर विभक्त देखिएका छन् । 

एमालेको आठौँ महाधिवेशनदेखि खतिवडा पनि ओली समूहमै पुगेपछि यी दुई नेता एउटै समूहमा थिए ।

यस्तै उपाध्यक्षमा उम्मेदवारी दिएका चेम्जोङ भने अहिले पनि प्रदेशका उपाध्यक्ष हुन् । सचिवमा उम्मेदवारी दिएका लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन् भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । 

एमाले कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अहिलेसम्म पनि सहमतिको प्रयास भइरहेको बताएका छन् । 

‘सहमतिको प्रयास जारी छ, सहमति नभए निर्वाचन कार्यक्रम अनुसार नै प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘समय सार्ने काम हामीबाट हुँदैन ।’ 

निर्वाचन कमिटीले आज ११ बजेदेखि ४ बजेसम्मका लागि मतदानको समय तोकेको छ । शुक्रबार सुरु भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि सहभागी छन् ।