विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनिकको साझा प्रयासमा सिटी क्लिनिक सञ्चालनमा आएको छ ।

विराटनगर–९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनिक सञ्चालनमा आएको हो । उक्त क्लिनिकको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । सिटी क्लिनिक सुविधा सम्पन्न पाँच तलाको भवनमा रहेको छ । सिटी क्लिनिकको ओपीडी समय बिहान ८ः३० देखि १०ः०० र बेलुकी ०५ः०० बजेपछि हुने अटल क्लिनिक एण्ड प्याथल्यावका प्रबन्ध निर्देशक सुरेशचन्द्र अटलले जानकारी दिए । सो क्लिनिकमा न्युरोका विशेषज्ञ चिकित्सकहरूले सेवा दिनेछन् । पहिलो तलामा विशेषज्ञ चिकित्सकले ओपीडीमा बिरामीको स्वास्थ्य जाँच गर्नेछन् । दोस्रो तलामा प्रयोगशाला र रेडियोलोजी रहेको छ । तेस्रो तलामा स्त्रीरोग, हाड जोर्नी, पाँचौं तलामा छाला तथा सौन्दर्यको स्वास्थ्य परीक्षण हुनेछ ।

विराटनगरको स्वास्थ्य क्षेत्रमा दशकौंदेखि सेवाग्राहीहरूको माझमा भरोसाको पर्याय बन्न सफल दुई संस्था न्युरो अस्पताल र अटल फार्मेसीको साझा स्वामित्वमा सिटी क्लिनिक सञ्चालनमा आएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । अटल फार्मेसीको स्वामित्वमा रहेको अत्याधुनिक भवनमा न्युरो अस्पतालमा कार्यरत वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको सेवाको सुविधा सेवाग्राहीहरूले आफ्नो पायक समय र ठाउँमा गर्नेछन्, जहाँ बिरामीमैत्री माहौल पाउने उनले बताए ।

‘हाम्रो यो साझा प्रयासले स्वास्थ्य सेवाग्राहीहरूको अपेक्षालाई सम्बोधन गर्नेछ । विभिन्न पेशामा व्यस्त रहनुभएका पेशाकर्मी विराटनगरवासी जसलाई कार्यालय समयमा आफ्नो तथा आफ्ना आफन्तहरूको स्वास्थ्य जाँचको लागि समय निकाल्न चुनौती रहेको छ’ उनले भने, ‘उहाँहरूको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी सिटी क्लिनिकको अवधारणा अगाडि ल्याएका हौँ ।’

स्वास्थ्य क्षेत्रमा विगत २३ वर्षदेखि अविच्छिन्नरूपमा विभिन्न प्रकारका मल्टिसपेशियालिटी हस्पिटल तथा त्यसैगरी औषधि व्यवसायको माध्यमबाट न्युरोले स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । विगत ३–४ दशकदेखि विराटगरको स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउन सफल अटल फार्मेसीबीचमा पवित्र उद्देश्यसहित स्वास्थ्य क्षेत्रमा सहकार्य गरी सिटी क्लिनिकको सुरुवात गरिएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्टले बताए ।