झापाको अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई नगरपालिका अन्तर्गतको अस्पताल व्यवस्थापन समितिले निलम्बन गरेको छ ।

बस्नेत र उनकै एक सहकर्मी महिला कर्मचारीलाई वन क्षेत्रमा श्रीमतीले लछार–पछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल व्यवस्थापन समितिले निलम्बन गरेको हो । समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । समितिको बैठकले घटनामा संलग्न घिमिरे थर भएकी महिला कर्मचारीलाई ४८ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

बिहीबार बेलुका बस्नेत र ती महिला कर्मचारी सडक छेउको वन क्षेत्रमा बसिरहेका समयमा बस्नेतकी श्रीमतीले लछार–पछार पारेकी थिइन् । ती महिला कर्मचारी र बस्नेतको नाजायज सम्बन्ध रहेको भन्दै बस्नेतकी श्रीमती आक्रोशित भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियो भाइरल भएपछि अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई निलम्बन गर्न सिफारिस गरेको हो । नगरपालिकाले बस्नेतसँग स्पष्टीकरण लिनका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच महिला कर्मचारीसँग आफ्नो लेनदेन रहेको र सडक किनारामा बसेर छलफल गरिरहेको समयमा कोही कसैले श्रीमतीलाई उक्साएर घटना भएको बस्नेतले बताएका छन् । उनले नैतिक पतन देखिने गतिविधि नभएको भन्दै विभिन्न सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति कानुनी उपचार खोज्ने बताएका छन् ।

‘मेरी श्रीमतीलाई कसैले हाम्रो बारेमा नकारात्मक कुरा लगाउँदै नियोजित रुपमा घटना गराएको हो, मेरो चरित्रहत्या गराउने प्रयास भएको छ, बस्नेतले भने– ‘यसको लागि मैले कानुनी उपचार खोज्न सुरु गरेको छु । पक्कै पनि मलाई न्याय हुन्छ भन्ने लागेको छ ।’ श्रीमतीले कुरा नबुझेर गरेको व्यवहारलाई खिचेर आफ्नो बदनाम गरेको आरोप पनि लगाए ।

बस्नेत र उनकी श्रीमतीसँगको झगडालाई सामाजिक सञ्जालमा काण्डका नामले भाइरल भइरहेको छ । दमक नगरपालिका र माइ जोगमाई गाउँपालिकापछि अर्जुनधारा नगरपालिकाको काण्ड भन्दै सामाजिक सञ्जालमा यो घटना भाइरल भइरहेको हो ।