विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणतर्फको प्रवेशद्वार (गेट) खुलाउन स्थानीयले माग गरेका छन् ।

बीपीको दक्षिण पूर्वतिरको गेट बन्द हुँदा धरानका वडाहरू क्रमशः १९, ८, १५ र ६ का नागरिक प्रभावित बनेकालेखुलाउन माग गरेको स्थानीयले बताए । प्रतिष्ठानको दक्षिण पूर्वतिरको गेट बन्द भएको कारण घुमेर मात्र जानु पर्ने भएकाले वडाबासीहरूलाई असहज भएको स्थानीय सन्तोष लिम्बूले जानकारी दिए ।

स्थानीयहरू सन्त तेम्बे, प्रतिमा तामाङ, टीकासिंह लिम्बू, जीवन हाङ्स्रोङ लिम्बू, नरु राई, सरस्वती राई, मचिन्द्र लिम्बू, खड्गबहादुर मगर, राजु तामाङ, मनि लिम्बू, छत्र चोङ्बाङ, तारामान गुरुङ, डि.बी. तामाङ, इन्द्रलाल राई, विष्णु सुवेदी, मेघराज लिम्बू, रुवेश राई, दिनेश लिम्बू र हाइगेन लिम्बूले हस्ताक्षरसहित प्रतिष्ठानको गेट खुलाउन माग गरेका हुन् ।

स्थानीय लिम्बूका अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रल्हाद कार्की, रजिष्ट्रार प्रा.डा. सूर्य सङ्ग्रौला, रेक्टर डा. सञ्जीव शर्मा, अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलगायतलाई गेट खुलाउन ध्यानाकर्षण गराइएको छ । यस्तै धरान नगरप्रमुख हर्कराज राई, उपप्र्रमुख अइन्द्रविक्रम बेघा र धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बूलाई प्रतिष्ठानको दक्षिण–पूर्वतर्फको गेट खुलाउन पहल गर्न ध्यानाकर्षण गराएका छन् । सो गेट खुल्दा उत्तरतर्फको गेटमा चाप कम हुने उल्लेख छ । विगतमा पनि दुई–तीन वर्ष खुलेको स्थानीय सन्तोष लिम्बूले बताए ।