धनकुटा । खोटाङमा गोरु काटेर गाउँलेलाई सामूहिक भोज खुवाउने कार्यक्रममा संलग्न भएको भन्दै प्रहरीले मङ्गलबार चारजनालाई पक्राउ गरेको छ ।

गाउँलेलाई गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा गाउँका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो । जालपा गाउँको मसानेडाँडास्थित चौरमा गोरु काटेर स्थानीयलाई भेला गरी भोज खाएर खुवाएको अभियोगमा चारजनालाई मङ्गलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर टीकाराज बरालले बताएका छन् ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ) का कार्यकर्ताले ‘मूलबासी मङ्गोल बहुसांस्कृतिक क्रान्ति अभियान’ लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए । गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्नेलगायतका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमध्ये तेजबहादुर टोल विकास संस्थाको अध्यक्ष हुन् । गोरु काटेर खान बोलाएपछि स्थानीय गाउँलेसहित मसानेडाँडा पुगेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टङ्कबहादुर मगरका अनुसार फुटेर गएको वीरलाल राई र जीवन मङ्गोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन (डिजिजि) समूहले गोरु काट्ने अगुवाइ गरेको हो । गोरु काट्नमा अगुवाइ गर्ने पक्षलाई छाडेर सामान्य सहयोगी भूमिका निभाउने र भोजमा गएर मासु खाने स्थानीयलाई पक्राउ गरिएको भन्दै वडाध्यक्ष राईले प्रहरी प्रशासनसँग गुनासो गरेका छन् ।