धरान । झापाका भिन्नाभिन्नै स्थानबाट ब्राउनसुगरसहित तीनजनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा काँकरभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–३ का २४ वर्षीय उत्सव चौधरी रहेका छन् । उनको साथबाट एक ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

त्यस्तै मेचीनगर नगरपालिका–९ बाट २० वर्षीय निर्दोष डाँगी र २७ वर्षीय साजन राजवंशीलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट एक ग्राम नौ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरूमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।