विराटनगर । नवजात शिशु निःसन्तान दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको घटनामा विराटनगरस्थित ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवास पनि पक्राउ परेका छन् ।

शिशुको बिक्री ग्रीनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटि देखिएको कारणले सञ्चालक खवासलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । अनुसन्धान गर्ने क्रममा हस्पिटलको पनि संस्थागत त्रुटि र व्यवस्थापकीय जिम्मेवारी देखिएपछि सञ्चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

नवजात शिशु बिक्री प्रकरणमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णसहित पक्राउ पर्नेको सङ्ख्या सात पुगेको छ ।

पछिल्लो समय अविवाहित जोडी भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया महिलाबाट जन्मिएको एक दिनको शिशु डाक्टर कर्णले पाँच लाखमा बेचेको खुलेको छ । कर्णले १४ असारमा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका–२ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट देखिएको हो । शिशु बेचेको एक महिनापछि यो घटना बाहिर आएपछि प्रहरीले कर्णसहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई, नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरूमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए ।

कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको पुष्टि गरेको छ । अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेमजोडीसँग डा. कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको छ ।

अविवाहित जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा. कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मे.सु.समेत थिए । पछिल्लो पटक असार १४ मा भोजपुर हतुवागढी–४ का एक अविवाहित प्रेमजोडीको सम्बन्धबाट विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुको व्यवस्थापनका नाममा तिनका अविवाहित अविभावकबाट समेत ३५ हजार रुपैयाँ लिएको र निःसन्तान दम्पतीसँग पाँच लाख लिएर बेचेको आरोपमा प्रहरीले डा. कर्णलाई पक्राउ गरेपछि थप अन्य पक्राउ परेका हुन् ।

अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
नवजात शिशु बिक्री प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीले अन्तिम तयारी गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अभियोजन तयार गर्दछ । त्यसपछि सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गर्नेछ ।

प्रहरीले नवजात शिशु विक्री प्रकरणमा डाक्टर तपेश्वरलाल कर्णसहित ७  जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अगाडि बढाएको हो । पक्राउ परेकालाई प्रहरीले सङ्गठित अपराध, मानव बेचविखन तथा ओसार–पसार र व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘कुन ऐन आकर्षित हुन्छ । हामी सबैतिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण (दशी) जुटाउने काम पनि अगाडि बढाएको छौँ’ एसपी पोखरेलले भने, ‘अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी अदालतमा मुद्दा दायर गर्नेछ ।’ पक्राउ परेका प्रतिवादीको कसूरअनुसारको मुद्दा दायर गर्ने तयारीको साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी पोखरेलले बताए ।