विराटनगर । मादक पदार्थ सेवन (मापसे) छाडेर सवारी चालक तथा सह–चालक लापसे (लागूपदार्थ सेवन) तर्फ लाग्ने गरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले मङ्गलबार लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा लिएपछि सवारी चालक र सह–चालकहरू मापसे छोडेर लापसेतिर लाग्ने गरेको पाइएको हो ।

लापसे गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरू रहेको मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर–१६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे गरेको पाइएको उनले बताए ।

सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियान तीव्ररूपमा अगाडि बढाएको छ । लागूऔषध ओसार–पसार तथा नियन्त्रणको लागि प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर–१६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरूलाई चेकजाँच गर्ने क्रममा ८ जनाको लापसे पोजेटिभ देखापरेपछि नियन्त्रणमा लिएको न्यौपानेले बताए । यसरी परीक्षणको क्रममा लापसे गरेर सवारी साधन चलाएको पत्ता लागेपछि कारबाहीको दायरामा ल्याउने उनले बताए । लापसे गरेर सवारी चलाउने ८ जनालाई इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ । यसअघि रानी नाकामा मोरङ प्रहरीले लागूपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ ।

ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर, मापसे छाडेर सवारीका चालक तथा सह–चालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।

‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुको कारण एउटा यो पनि हुनसक्छ ।’

उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष कीटको प्रयोग गरेर लागूऔषध सेवनसम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागूपदार्थ सेवनलाई निरुत्साहित गराउने उद्देश्य रहेको जानकारी उनले दिए । लापसे चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।

कीटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे\नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई कीटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ । अर्थात् रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ’ उनले भने, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’

लापसे अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख न्यौपाने, इप्रका रानीका प्रमुख इन्स्पेक्टर सन्दीप बेल्बासे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका डिएसपी श्यामसुन्दर पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख असइ प्रेम साहले (लापसे) सेवनकर्तालाई लापसे गर्दा हुने बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।