धरान । थप दाइजो नल्याएको भनी पत्नीको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति निकिता चौधरीको हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विराटनगर महानगरपालिका–१७ मटेरुवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप उनीमाथि छ । उनले विवाहको बेलामा चौधरीसँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए ।

थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइतीपक्षको भनाइ छ । उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता खुल्ने एसपी रेग्मीको भनाइ छ ।