के तपाईंले कहिल्यै ब्याकबेन्चरहरू भनेर चिनिने विद्यार्थीहरू वा अध्ययन गर्ने विद्यार्थीहरूको बारेमा सोच्नुभएको छ ? हरेक विद्यालयका कक्षामा यस्ता विद्यार्थीहरू  हुन्छन् । यस्ता विद्यार्थीहरूलाई शिक्षक र अभिभावकको सहयोगले अगाडि बढाउनुपर्ने हुन्छ । सबैले यस ध्यान दिनुपर्छ भन्ने कुरा राख्न चाहन्छु । म यो पनि उल्लेख गर्न चाहन्छु कि मैले यहाँ सबै विद्यालय, विद्यार्थी वा शिक्षकको कुरा गरेको होइन ।

हरेक बच्चाको आफ्नै क्षमता हुन्छ । तर, शिक्षकको हैसियतले कसरी उनीहरूको क्षमतालाई बाहिर ल्याउने भन्ने कुरा महत्वपूर्ण छ । हरेक बच्चाको आफ्नै क्षमता हुन्छ, उपहार हुन्छ । शिक्षकको हैसियतले सबैलाई बराबर हेर्ने, प्रोत्साहन गर्ने गर्नु पर्छ । कोही विद्यार्थीलाई नजिक र कोहीलाई टाढा बनाउनु हुँदैन । कसैसँग सामाजिक सीप राम्रो हुनसक्छ, कोही खेलकुदमा राम्रो हुन सक्छ, कोही गीत सङ्गीत या अन्य विधामा इच्छुक या जान्ने हुनसक्छ ।  तर, पढाइको आधारले मात्र विद्यार्थीलाई  शिक्षकले हेर्नु हुँदैन । पढाइमा कमजोर नै छ भने पनि प्रोत्साहन गरेर, उसलाई पनि हरेक कुरामा सहभागी गराएर उसलाई पढ्न मन लाग्ने बनाउनु पर्छ । अरू जान्ने विद्यार्थीलाई मात्र धेरै कुरामा सहभागी गराइरहँदा कमजोर विद्यार्थीको मनोबल झन् कमजोर बनाउने हुन सक्छ ।

म व्यक्तिगत रूपमा भन्न चाहन्छु कि प्रत्येक शिक्षकको मनपर्ने विद्यार्थी हुन्छन् र कुनै न कुनै रूपमा उहाँहरूले उनीहरूलाई बढी ध्यान दिनुहुन्छ । उदाहरणका लागि म एउटा कथा सुनाउन चाहन्छु, एउटा सहरमा दुईजना साथीहरू बस्थे र उनीहरू दुवै एउटै विद्यालयमा पढ्थे । प्रभु र शङ्कर वर्षौंदेखि रुममेट पनि थिए । प्रभु पढ्न मन नपराउने, खाली गेम खेल्न मन पराउने खालको केटो थियो भने शङ्कर त्यसको उल्टो बढी पढ्ने खालको थियो । शङ्कर को विज्ञान विषय मन पर्ने विषय  थियो । शङ्करले आफ्नो सबै गृहकार्य समयमै गथ्र्यो तर, प्रभुलाई आफूले कस्तो गृहकार्य छ भन्ने पनि थाहा हुँदैनथ्यो । हरेक शिक्षकले शङ्करलाई माया गर्नुहुन्थ्यो र उसको बारेमा कहिल्यै नराम्रो मान्नु हुँदैनथ्यो । शिक्षकहरूको गाली खाने डरले प्रभु विद्यालयमा गयल हुन मन पराउँथ्यो । शिक्षकहरू उसको यस्तो व्यवहारले दुःख मान्नुहुन्थ्यो  भने ऊ पनि हतोत्साहित भएको थियो  ।

तर, शङ्करको राम्रो पढाइ र व्यवहारले गर्दा उसलाई सबैले राम्रो भन्नाले उसले अझै प्रोत्साहित हुने मौका पायो र झन् राम्रो गर्दै गयो ।

विद्यार्थीलाई सधैँ शिक्षकहरूको माया र सहयोगको आवश्यकता हुन्छ, विश्वास  र प्रोत्साहनको आवश्यकता हुन्छ । शिक्षकहरू वा अभिभावकले यस्ता कुराहरू बुझिदिनुभएमा ब्याकबेन्चरहरू कमजोर मात्र हुन्छन् भन्ने कुरा गलत हुनसक्छ ।

मैले यहाँ राख्न खोजेको कुरा के हो भने सबै विद्यार्थीहरू आफ्ना शिक्षक बाट समान माया र सद्भाव पाउन योग्य हुन्छन् । सबैलाई आफ्ना आमाबाबु मात्र हैन, गुरुहरूको पनि त्यति नै सहयोग र समर्थन चाहिन्छ । उनीहरूले सधैँ आफ्ना शिक्षकहरूबाट उत्प्रेरित महसुस गर्नुपर्छ । हामी सबै विद्यार्थीहरू समानताका साथ हामीलाई मद्दत गर्ने र सिकाउने शिक्षकहरू चाहन्छौँ र हामी सबैलाई थाहा छ कि हाम्रा सबै शिक्षकहरूले पनि उत्कृष्ट विद्यार्थीहरू चाहनुहुन्छ । किनभने अन्तमा हाम्रा अभिभावक र शिक्षकहरूले हामी सबैलाई समर्थन  गर्नुहुन्छ र हाम्रो लागि राम्रो अर्थ राख्नु हुन्छ । हामी सबै आफैमा एक सुपरस्टार हौँ, हाम्रो प्रतिभालाई बाहिर ल्याउन केही मद्दत चाहिन्छ ।