वृत्तिविकासको माग गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत शिक्षक, कर्मचारीहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।

पूर्व निर्धारित कार्यक्रम नभए पनि आन्दोलनरत शिक्षक कर्मचारीले तालाबन्दी गरिदिएका हुन् । केही प्रोफेसरले परीक्षा सन्चालन गर्न लागेको सूचना पाएपछि आन्दोलनरत भीडले तालाबन्दी गरिदिएको प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले जानकारी दिए ।

'तालाबन्दी गर्ने हाम्रो पूर्वनिर्धारित कार्यक्रम थिएन, आन्दोलनरत भीडले एग्रेसिभ भएर तालाबन्दी गरिदिएको छ,' डा खानले भने,'हाम्रो पूर्वनिर्धारित कार्यक्रम जारी छ, परीक्षालगायतका कार्यक्रम बहिष्कार गरिएको छ ।'

प्रतिष्ठानका उपकुलपतिसँग हिजो बसेको शिक्षक कर्मचारीको छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो । उपकुलपति प्राडा प्रह्लाद कार्कीले मन्त्रीसँग छलफल गरी निकास दिने आश्वासन दिएको अध्यक्ष खानले जानकारी दिए ।

बिपी प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा प्रतिष्ठानको उदासिनताप्रति शिक्षक, कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

शिक्षक कल्याण समाजले दिएको अल्टिमेटमको बेवास्ता गरेपछि शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्नालगायतका आन्दोलन गर्दै आएका छन् ।

प्रतिष्ठानमा बढुवा प्रक्रियामा १८ वर्षदेखि  रोकिएका शिक्षक कर्मचारी छन् । बढुवा रोकिएका शिक्षक चिकित्सक प्रतिष्ठान छाड्नेहरुको तथ्यांकसमेत उल्लेखीय छ । अनुभवी शिक्षक, चिकित्सकले प्रतिष्ठान छाड्न थालेपछि प्रतिष्ठानको विश्वसनीयता र आर्थिक अवस्था धरासायी हुँदै गएको जानकार बताउँछन् ।