बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन बेथितिको अखडा बन्दै गएको छ । तीनतीन महिनामा हुने शिक्षक चिकित्सकको वृत्तिविकास रोकिएको ६ वर्ष बितिसक्दा पनि प्रतिष्ठान व्यवस्थापनले त्यसतर्फ चासो दिएको छैन । त्यसमाथि आन्तरिक पदपूर्ति एवम् बढुवा प्रक्रियामा लोकसेवा आयोगले अंकुश लगाउँदा शिक्षक कल्याण समाज आन्दोलित भएको छ ।
शिक्षक कल्याण समाजले साता दिन दिएको अल्टिमेटमको बेवास्ता गरेपछि शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्ना सुरु गरेको छ । लोकसेवा आयोगको हस्तक्षेपको कारण प्रतिष्ठानका पदाधिकारी नै रहेको शिक्षक कल्याण समाजको आरोप छ । जानकारी, ध्यानाकर्षण र अल्टिमेटम दिँदा समेत व्यवस्थापन कानमा तेल हालेर बसेको शिक्षक चिकित्सकको आरोप छ ।
‘हरेक तीनतीन महिनामा प्रोफेसरहरुको प्रमोसन खुल्थ्यो, एक महिना ढिला नगरी । अहिले हाम्रो ५–६ वर्ष भयो, एउटा विज्ञापन पनि खुलेको छैन ।’ शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले भने, ‘अहिले प्रोफेसर हुनुपर्ने मान्छे, एडिस्नल प्रोफेसरमात्रै छन् ।’ शिक्षक चिकित्सकको वृत्तिविकास रोकिंदा जनशक्ति उत्पादन र प्रतिष्ठानको आर्थिक उपार्जनमा समेत बाधा भइरहेको डा. खानले बताए ।
यस अघि शिक्षक कल्याण समाजको विज्ञप्ति र आन्दोलनको कार्यक्रमप्रति प्रतिष्ठानले ध्यानाकर्षण विज्ञप्ति निकालेको थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव कुमार शर्माले विद्यार्थीहरुको पठनपाठन र परीक्षाको गम्भीरतालाई बुझेर पठनपाठन र परीक्षाका पूर्वनिर्धारित कार्यक्रम यथावत सञ्चालन गर्न, गराउन अपिल गरेका थिए ।
प्रा.डा. शर्माले अपिलमार्फत् पठनपाठन र बिरामीको स्वास्थ्य उपचार सेवामा दिनरात तल्लीन प्रतिष्ठानका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको समयसापेक्ष नियमानुसार वृत्तिविकास हुनुपर्छ भन्ने कुरामा दुई मत नरहेको उल्लेख गरेका थिए । शिक्षाध्यक्ष प्रा.डा.शर्माले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको भविष्यलाई मध्यजनर राख्दै शिक्षकका हकहितका कदम अगाडि बढाउनसमेत अनुरोध गरेका थिए ।
बिपी प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रियामा लोकसेवा आयोगले भदौ ७ गते प्रेषित पत्र र प्रतिष्ठानमा सोमबार दर्ता गरिएको पत्रमा बढुवा र पदपूर्तिमा बन्देज लगाएको छ । आयोगले निर्णय गर्दै सहमति लिएर मात्र पदपूर्ति सम्बन्धि आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भनेको छ । ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०७९’ र ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०७९’ को प्रस्तावित मस्यौदामा संगठन, संरचना र दरबन्दीको विषयमा सम्बन्धित मन्त्रालय र नेपाल सरकारलाई आर्थिक व्ययभार पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति तथा नियुक्ति, बढुवा, विभागीय कारबाहीलगायतका अन्य विषयमा सम्बन्धमा उक्त नियमावलीको मस्यौदामा उल्लिखित व्यवस्थाबमोजिम हुने गरी आयोगको गत २०७९ माघ १२ मै बैठकले परामर्श गरेको उल्लेख छ । आयोगले परामर्शका विषयमा आधारभूत फेरबदल नहुने सुनिश्चिततासहति प्रतिष्ठानलाई पत्राचार गरेको छ ।
प्रक्रियामा रहेको वृत्तिविकाससम्बन्धि प्रक्रियालाई लोकसेवाबाट प्रायोजित ढंगले गलत रिपोर्ट पेश गरी प्रतिष्ठानको नाममा चिठी पठाइएको शिक्षक कल्याण समाजको आरोप छ । यसको विरोधस्वरुप आजदेखि शैक्षिक तथा परीक्षाका कार्यक्रम बहिष्कार गर्ने, प्रतिष्ठानका अतिरिक्त जिम्मेवारी (होस्टल वार्डेन, वार्षिक प्रगति प्रतिवेदन, जेबिपीकेआईएचएस, साइन्टिफिक कमिटी, आईआरसी) लगायतका बहिष्कार गर्ने, हरेक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालय अगाडि धर्ना दिने, थप कार्यक्रम अघि बढाउने कार्यक्रम रहेको छ ।
































