भद्रपुर । झापाको भद्रपुर नगरपालिका–८ मा नवनिर्मित प्रादेशिक अस्पताल निर्माणका क्रममा ठेकेदारले गरेको त्रुटि सच्याउन मर्मत सुरु गरेको छ ।

उद्घाटन गर्ने भनेर तयारी भइरहेको कोशी प्रदेश अन्तर्गतको एक मात्र प्रादेशिक अस्पताल हस्तान्तरण नै नभई पानी चुहिन थालेपछि सर्वत्र चर्चाको विषय बनेको थियो । स्थानीयले ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्नेसम्मको माग गरेका थिए  । ठेकेदार कम्पनीले चुहिने भवनको छत केही दिनअघिबाट मर्मत थालेको हो । काठमाडौँको श्री कन्टेक प्रा.लि.ले ठेक्का पाएको थियो । हाल छत फुटाई चुहावट रोक्नका लागि काम गरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका इन्जिनियर मोहम्मद दिलाबर राइनले बताए । केही दिनयताबाट काम सुरु भएकोले अब पानी नचुहिने गरी काम भइरहेको उनले जानकारी दिए । समस्या देखिएका स्थानमा ४८ घण्टासम्म पानी जमाएर हेर्ने र सिलिङ रसाएन भने अन्तिम रूप दिने उनको भनाइ छ । लगभग दुई हप्ताभित्र काम सम्पन्न हुने उनले जानकारी दिए ।

मेची अस्पतालको पुरानो भवन जीर्ण हुनुका साथै खरिद गरिएका उपकरणहरू बिग्रने र बिरामीहरूको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको पत्ता लागेको थियो । जेठ २२ गते नै सघन सहरी विकास आयोजना झापाका सिडिई रूपक आचार्यले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरले सो भवन हस्तान्तरणको फारममा हस्ताक्षर गरी बुझिलिएका थिए भने आयोजनाको पत्रमा जिल्ला समन्वय समितिका अध्यक्ष विश्वनाथ बराल, पदेन सदस्य तथा भद्रपुर नगरका प्रमुख गणेश पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, समितिका सदस्य लक्ष्मण पोखरेल, जानुका पौडेल, वडानम्बर ८ का अध्यक्ष गौरव सुब्बालगायतले रोहवरमा हस्ताक्षर गरेका थिए ।

गुणस्तरहीन भवनको विषयमा सार्वजनिक भएपछि नगरप्रमुख पोखरेल, जिल्ला समन्वय प्रमुख बराल, युवा नागरिक समाज झापा भद्रपुरका अध्यक्ष प्रेम खनाललगायतको छलफलमा सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सिडिई आचार्यले भवन निर्माणमा भएको त्रुटिको मर्मत गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिइने बताएका थिए । भवनको विषयमा माओवादी केन्द्र भद्रपुर नगरसमिति, नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्तिमार्फत् चासो देखाएका थिए ।

विवाद देखिएपछि सघन सहरी तथा भवन निर्माण आयोजनाले भवन निर्माण कार्यमा भएको त्रुटिको र गुणस्तरको चेकजाँच गराउन स्ट्रक्चर इन्जिनियर प्रविन ढकालसहितको विशेषज्ञ टोलीलाई खटाएको थियो । भवन निर्माणमा प्रयोग भएको सामान गुणस्तरीय भए पनि केही समस्या भएकोले यसको मर्मत गरेपछि भवन प्रयोगमा ल्याउन सकिने इन्जिनियर ढकालले बताएका थिए ।

असार ६ गते विकास समितिले विज्ञप्तिमार्फत् असारको पहिलो सातामा आएकै वर्षे झरीको पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहिएको, छानाको फाइबर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको उल्लेख गरेको थिए । त्यस्तै २०८० जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्यालढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटी स्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको थियो ।

विज्ञप्तिमा भवन निर्माण प्रक्रियामा अस्पताल विकास समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नताका सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरीवेक्षण गर्ने पक्षलाई कानूनी दायरामा ल्याई क्षतिपूर्तिसमेत असूलउपर गर्न सरकारसँग माग गरिएको थियो । अस्पताल विकास समितिले नवनिर्मित सो भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको थियो ।

२४ करोड ६२ लाख रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक २२ करोड ६१ लाख ३७ हजार ३ सय ५२ रुपैयाँ ७१ पैसा) मा २०७४ साल कात्तिक ३० गते श्री कन्टेक प्रा.लि.ले २०७९ भदौ ३१ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । कुशल शर्मा सञ्चालक रहेको उक्त निर्माण कम्पनीले प्रादेशिक अस्पतालको दुई वटा भवनमा छ वटा ब्लक र एउटा ¥याम्प बनाएको छ । भवन अपाङ्गमैत्री निर्माण गरिएको छ भने दुईवटा लिफ्टसमेत जडान गरिएको छ ।