वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा १२ किसिमका रोगको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  नगरपालिकाको आयोजनामा सोमबार वडा नं. ३ मा शिविर आयोजना गरिएको हो ।

विराटनगरस्थित नोबेल अस्पतालको प्राविधिक सहयोगमा भरौलको महेन्द्र माध्यमिक विद्यालयमा आयोजित शिविरमा जेनेरल मेडिसिन, स्त्री, मुटु, आँखा, नाक, कान, घाँटी, हाडजोर्नी, दाँत, ल्याव टेष्ट र छालालगायत  रोगको परामर्श, निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो ।

शिविरमा १५ सय बढी महिला, पुरुष, ज्येष्ठ नागरिक र बालबालिकाले सेवा लिएका थिए  ।  आर्थिक अभावका कारण सहरका अस्पतालमा उपचार गराउन नसकेका नागरिकलाई समयमै रोगको पहिचान र उपचार गराउन सहज हुने भएकाले शिविरको आयोजना गरिएको वराहक्षेत्रका मेयर रमेश कार्कीले बताए ।

उनले नियमित रूपमा  आवश्यकताअनुसार सबै वडामा स्वास्थ्यशिविर सञ्चालन गरिने बताए । वडा नं. ३ का अध्यक्ष राजदीप लामाको अध्यक्षतामा शिविर आयोजना गरिएको थियो ।