विराटनगर । मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालयका पाँच जना छात्रालाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विज्ञान पढाउने २७ वर्षे शिक्षक विकासकुमार साह धरौटीमा रिहा भएका छन् ।

मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजलासले १ लाख रुपैयाँ धरौटीमा छोड्न मङ्गलबार आदेश दिएको हो । मोरङ अदालतमा दायर भएको बाल यौन दुरुपयोग मुद्दामा शिक्षक साहविरुद्ध पाँच जना छात्राको जाहेरीमा छुट्टा–छुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्यालको इजलासले पाँच वटा मुद्दामा जनही २० हजार रुपैयाँको दरले धरौटीमा छोड्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । अदालतले तोकेको धरौटी रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।


साहले पछिल्लो पटक जेठ ३२ गते छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए ।

पाँच जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक हुन् । उनले कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन् । उनीमाथि गतवर्ष पनि विद्यार्थीहरूलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसबेला स्कुलमै घटना मिलाइएको थियो ।

दोस्रो पटक पाँच जना छात्रामाथि दुव्र्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । ‘होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने तिघ्रा सुम्सुम्याउने, चिमोट्नेजस्ता यौनजन्य दुव्र्यवहार पटक–पटक गर्दै आएका थिए’ अभियोगपत्रमा उल्लेख छ ।

नियमित विद्यालय जाने छात्राहरू अचानक स्कुल नजाने भन्दै रुने मात्र गर्न थालेपछि बाल यौन दुव्र्यवहारको घटना बाहिर आएको हो । नियमित विद्यालय जाने गरेका छात्राहरू दुव्यर्वहारको घटनापछि असारको पहिलो सातादेखि स्कुल जान छोडेका थिए । छोरी स्कुल जान छोडेपछि अभिभावकले स्कुल नजानुको कारणबारे बुझ्न थाले । दुव्र्यवहारमा परेकी एक छात्राले आमासँग खुलेर स्कुल नजानुको कारण विज्ञान विषय पढाउने शिक्षकको कर्तुत सुनाइन् । त्यसपछि आमा छाँगाबाट खसेजस्तो भइन् । ती छात्राले आमालाई रुँदै भनिन्, ‘अब म स्कुल जान्नँ । विज्ञान पढाउने सरले नराम्रो हर्कत गर्नुहुन्छ । सरले सुरुमा होमवर्क चेक गर्नुहुन्छ । त्यसपछि तिम्रो होमवर्क मिलेन भन्दै कक्षा कोठामा घोप्टो पार्नुहुन्छ । त्यसपछि सर्टभित्र हात लैजाने र तिघ्रा सुम्सुम्याउने जस्ता काम गर्नुहुन्छ । त्यसैले म अब त्यो स्कुल जान्नँ ।’