विराटनगर । मोरङ जहदाकी ११ वर्षीया कृष्णकुमारी (नाम परिवर्तन) कक्षा पाँचमा अध्ययरत छिन् । जहदाको जनप्रिय आधारभूत विद्यालयमा अध्ययनरत उनी नियमित विद्यालय जान्थिन् । तर, असारको पहिलो सातादेखि एकाएक स्कुल जान मन गर्न छाडिन् ।

छोरी स्कुल जान छोडेपछि अभिभावकले स्कुल नजानुको कारणबारे बुझे । कृष्णकुमारी आमासँग खुलेर स्कुल नजानुको कारण विज्ञान विषय पढाउने शिक्षकको कर्तुत सुनाउँदा आमा छाँगाबाट खसेजस्तो भइन् । जब कृष्ण कुमारीले आमालाई रुँदै भनिन्, ‘अब म स्कुल जाँदिनँ । विज्ञान पढाउनुहुने सर नराम्रो हर्कत गर्नुहुन्छ । सरले सुरुमा होमवर्क चेक गर्नुहुन्छ । त्यसपछि तिम्रो होमवर्क मिलेन भन्दै कक्षा कोठामा घोप्टो पार्नुहुन्छ । त्यसपछि सर्टभित्र हात लैजाने र तिघ्रा सुमसुम्याउने जस्ता क्रियाकलापहरू गर्नुहुन्छ । त्यसैले अब म त्यो स्कुल जाँदिनँ ।’

यसरी कृष्णकुमारी जस्ता छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक जहदा गाउँपालिका–१ कुल्हडिया टोलका २७ वर्षीय विकासकुमार साह हुन् । शिक्षक साहले कृष्णकुमारीलाई मात्रै नभई जनप्रिय विद्यालयमा पढ्ने थप चार जना छात्रालाई यौन दुव्र्यवहार गर्दै आएको आरोप छ । साहले पाँच जना छात्रालाई गत जेठ ३२ गते यौन दुव्र्यवहार गरेको आरोप छ । पाँच जना छात्रालाई यौन दुव्यर्वहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक रहेको स्थानीयले बताए ।

उनले कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन् । एक वर्षअगाडि पनि विद्यार्थीहरूलाई दुव्र्यवहार गरेको आरोप उनीमाथि लागेको थियो । त्यसबेला उक्त आरोपलाई स्कुलमै सामसुम पारिएको थियो । दोस्रो पटक पाँच जना छात्रामाथि दुव्र्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । ‘होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने, तिघ्रा सुमसुम्याउने, चिमोट्ने जस्ता हर्कत पटक–पटक गर्दै आएका थिए’–अभियोग–पत्रमा उल्लेख छ ।

मोरङ प्रहरीमा बालयौन दुरुपयोग मुद्दामा जाहेरी दर्ता गराएका छात्राहरूले यसअघि पनि दुव्र्यवहार गर्ने गरेको जाहेरी दिएका छन् । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका हुन् । ‘पीडित छात्राहरूका अभिभावकले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिएको हो’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।’  जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा यौन दुव्र्यवहार मुद्दा दर्ता गरेको हो । 

तीन वर्ष कैद र ३० हजार जरिबानाको माग
यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका शिक्षक साहलाई जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार बालयौन दुरुपयोग मुद्दामा अभियोग मोरङ अदालतमा दर्ता गरेको छ ।

सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहित २०७४ को दफा २२५ को उफदा (१) र (२) बमोजिमको कार्य कसूर गरेकोले उनलाई तीन वर्षसम्म कैद र तीस हजार जरिबानाको माग दाबी लिएर अभियोग दर्ता गरेको हो । अभियोग दर्ता भएपछि प्रतिवादी साहको मङ्गलबार बयान लिइएको छ । बयान सकिएपछि आज (बुधबार) थुनछेक बहस हुने जनाइएको छ ।