धरान । धरान उपमहानगरपालिकाले बजार अनुगमनका नाममा व्यक्तिको मानमर्दन हुने काम गरेको भन्दै विभिन्न क्षेत्रका व्यवसायीहरूले आपत्ति जनाएका छन् ।

उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा गत बुधबार धरान–१ स्थित डाक्टर तपनकुमार तरफदारको क्लिनिकसँग रहेको ल्याव दर्ता नगरिएको भन्दै भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि व्यवसायीहरूले आपत्ति जनाएका हुन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घले बिहीबारै विज्ञप्ति जारी गरेर व्यक्तिको गोपनीयताको हकविरुद्ध मानमर्दन हुने काम गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले अनुगमनको नाममा अनधिकृत व्यक्ति, युट्युबरहरूले धरानका प्रतिष्ठित डाक्टर तरफदारको भिडियो खिचेर मानमर्दन गर्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अनुगमनको नाममा स्थानीय सरकारले व्यवसायीमाथि ज्यादती गर्ने गरेकोसमेत देखिएको विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य संस्थाहरूलाई कानूनी प्रक्रियामा ल्याउनु राज्यको दायित्व भएको तर, अनुगमनको नाममा मानमर्दन गरिनु भत्र्सनायोग्य घटना भएको सङ्घले उल्लेख गरेको छ ।

यसैगरी नेकपा (एमाले) निकटको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान नगरकमिटीले शुक्रबार अनुगमनका नाममा भ्रमपूर्ण र अमर्यादित प्रचार गरिएको भन्दै धरानका नगरप्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघालगायतको ध्यानाकर्षण गराएको छ ।

कमिटीले डा.तपन तरफदार, जनप्रतिनिधिहरू, अनुगमन अधिकृत, स्वास्थ्य महाशाखा प्रमुखलगायतको उपस्थितिमा ध्यानाकर्षण–पत्र बुझाएको हो । महासङ्घका नगरअध्यक्ष शिवराज श्रेष्ठको नेतृत्वमा गएको टोलीले व्यावसायिक प्रतिष्ठानसहित स्वास्थ्य क्लिनिक, ल्याव, मेडिकल सेन्टरमा अनुगमन गरेर मिडियामार्फत् सिर्जित भ्रमपूर्ण र अमर्यादित प्रचारबारे गुनासा र सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

त्यस्तै अनुगमनका क्रममा स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, औषधि व्यवसायीहरूसँग दुव्र्यवहार भएको भन्दै औषधि व्यवसायी सङ्घ, पारा मेडिकल एसोसिएसन र मेलनका धरान प्रतिनिधिहरूले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।

त्यसैगरी नेपाल स्वास्थ्यकर्मी सङ्गठन धरानले पनि विज्ञप्ति जारी गरेर अनुगमनका नाममा व्यक्तिको मानहानि हुने कार्य भएको भन्दै आपत्ति जनाएको छ । सङ्गठनले सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक गरिएका भिडियोहरू हटाउन पनि अनुरोध गरेको छ ।

स्वास्थ्यमा खेलवाड नगर्न आग्रह

सुनसरी उद्योग वाणिज्य सङ्घले धरानको खानेपानीमा दिसापिसाबमा पाइने ‘कोलिफर्म’ भेटिएको कुराले धरानवासीलाई झक्झकाएको उल्लेख गर्दै नगरवासीको स्वास्थ्यमा खेलवाड नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘खानेपानीजस्तो जीवनको अपरिहार्य स्रोतमा गरिएको खेलवाड अक्षम्य अपराधको कोटीमा पर्दछ । त्यसैले तुरुन्त खानेपानी प्रशोधन गरेर मात्र वितरण गर्न पनि अनुरोध गर्दछौं ।’