इटहरी । इटहरी उपमहानगरपालिकाले डेङ्गु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । उपमहानगरले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो । नगरप्रमुख हेमकर्ण पौडेलले सबै वडाबाट अभियान सुरु गरिएको जानकारी दिए ।

२० वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गरिएको छ । प्रतिकूल मौसमका बावजुद पनि डेङ्गुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको इटहरीका नगरप्रमुख पौडेलले जनाए । 

टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकोले सचेतनामूलक अभियानलाई व्यापक बनाइएको नगरप्रमुख पौडेलले जनाए । 

  यसअघि उपमहानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाइ शाखाका कर्मचारीसहित विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।  उपमहानगरले डेङ्गु रोकथामका लागि उपमहानगरका २० वटै वडामा खोज र नष्ट गर अभियानमा सबैलाई सहभागी हुन आग्रह पनि गरिएको छ । उपमहानगरले इटहरीबासीका लागि परीक्षण खर्च र अस्पताल खर्च निःशुल्क गरिदिने घोषणा गरिसकेको छ ।