धनकुटा । लेडी जेसीज धनकुटाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ धनकुटा डा. रामप्रसाद आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा वुधबार धनकुटाको जेसीज गाउँमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राईले निःशुल्क आँखा शिविरको उद्घाटन गरे । उनले भने, ‘मानिसको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अङ्ग आँखा भएकोले आँखालाई विशेष ध्यान दिनु पर्छ ।’ उनले आँखाको बारेमा जेसीजमार्फत् जनचेतना जगाउनसके अझ प्रभावकारी हुने बताए ।

धनकुटा लेडी जेसीजका अध्यक्ष मुनेका बस्नेतको अध्यक्षतामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा महासचिव मुना पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रमको महŒवकोबारे पूर्व अध्यक्ष विसिका श्रेष्ठले जानकारी गराएकी थिइन् । कार्यक्रममा पूर्व अध्यक्ष विसिका श्रेष्ठ, उपाध्यक्ष शोभा श्रेष्ठ, सचिव शोभा राईको सहभागिता रहेको थियो ।

शिविरमा डा. रामप्रसाद आँखा अस्पतालका नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आँखा परीक्षण गरी उपचार गरेका थिए । धनकुटा नगरपालिका वडा नं. ६ स्थित जेसीज गाउँका र पात्ले खोला क्षेत्रका स्थानीय बासिन्दाको आँखा जाँच गरी उपचार गरिएको लेडी जेसीज धनकुटाका महासचिव मुना पोखरेलले बताइन् ।

लेडी जेसीज धनकुटाले धनकुटाको वडा नं. ६ स्थित उक्त गाउँलाई चार वर्षअघि जेसीज गाउँ नामकरण गरी प्रत्येक वर्ष त्यहाँ विभिन्न सामाजिक क्रियाकलापहरू गर्दै आएको पूर्व अध्यक्ष विसिका श्रेष्ठले बताइन् ।