विजयपुर । धरान–१४ नम्बर वडा कार्यालयले डेङ्गु नियन्त्रणमा उदाहरणीय काम गरिरहेको छ । कार्यालयको सहयोगमा डेङ्गु सङ्क्रमितको निःशुल्क उपचार भइरहेको छ ।

धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार एक हप्ता अघिदेखि वडाका डेङ्गु सङ्क्रमित बिरामीलाई उपचार गर्न सुरु गरेको हो । उनले भने, ‘डेङ्गु महामारीको रूपमा फैलिएसँगै वडामा निर्णय गरेर रोकथामसँगै उपचार गरिरहेका छौँ ।’ वडा कार्यालयले आधारभूत स्वास्थ्य केन्द्र र विजयपुुर मेडिकल हलसँगको सहकार्यमा डेङ्गु नियन्त्रणका साथै उपचारको काम गरिरहेको छ । वडाध्यक्ष भट्टराईका अनुसार मेडिकल हल नजिकै कोठा भाडामा लिई अस्थायी बेड बनाएर सङ्क्रमितको उपचार भइरहेको छ । उनले भने, ‘जनस्वास्थ्यमा हेल्चेक्याइँ गर्नुहुँदैन भनेर उपचारको व्यवस्था मिलाइरहेका छौँ ।’

उपचार गराउनका लागि वडा कार्यालयले सिफारिस गर्नुपर्दछ । वडाले सिफारिस गरेपछि भिटामिन, स्लाइन पानी, औषधिलायतका डेङ्गुमा आवश्यक पर्ने सामग्री निःशुल्क प्रदान गर्दै आइरहेको छ । दैनिक १५–१६ जना उपचारका लागि आउने गरेका छन् । एउटा सङ्क्रमितको उपचारमा न्यूनतम् १ हजार रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म खर्च हुने गरेको छ । कतिपय सङ्क्रमितले आर्थिक अभावमा उपचार नगरी बस्ने गरेको वडाध्यक्ष भट्टराईको भनाइ  छ । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका बिरामीलाई धेरै राहत भएको छ ।’

वडामा १ लाख रुपैयाँ बजेट स्वास्थ्यमा छ, त्यसबाट नै खर्च गरिरहेका छौं ।’ उनले भने, ‘पुगेन भने रकमान्तर पनि गर्नुपर्ला, महामारीमा नागरिक बचाउनु पर्यो । सहज हुँदा नागरिकले केही मागेका छैनन् । त्यसैले महामारीमा स्वास्थ्यमा केन्द्रित भई महामारीबाट मुक्त गर्न लागिपरेका छौँ ।’ वडाले आधारभूत स्वास्थ्य केन्द्रमा पनि डेङ्गु बेड सञ्चालन गर्न लागेको छ । वडाध्यक्ष भट्टराई भने, ‘स्वास्थ्य केन्द्रका कर्मचारी १० बजेदेखि ४ बजेसम्म हुन्छन् । अन्य स्वास्थ्यकर्मी चाहिने भएकाले व्यवस्थापन गर्दैछौँ ।’ वडाले लार्भा नष्ट गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान पनि गरिरहेको जनाएको छ ।

विद्यार्थीहरूमार्फत् सचेतना र लामखुट्टेको लार्भा नष्ट गर्ने काम पनि गरिरहेको छ । टोल विकास संस्था, सामाजिक सङ्घ–संस्थालगायतका सरोकारवाला पक्षसँग समन्वय गरेर अभियान सञ्चालन गरिरहेको वडाध्यक्ष भट्टराईको भनाइ छ । वडावासीबाहेक हात्तीसार क्याम्पसका विद्यार्थीलाई उपचार गर्ने गरेको छ ।  उनले क्याम्पसले महामारी नियन्त्रणमा केही भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।