विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका दुई ठूला अक्सिजन प्लान्ट बिग्रिएको एक वर्ष बितिसक्दा पनि बनाएर सञ्चालन गर्नुको साटो अस्पताल प्रशासनले निजी क्षेत्रबाट मासिक लाखौं रुपैयाँको अक्सिजन खरिद गरेर ल्याउने गरेको पाइएको छ ।

अस्पताललाई आवश्यक पर्नेभन्दा बढी उत्पादन हुने अक्सिजन प्लान्ट बिग्रिएर थन्किएको एक वर्ष बितिसक्दा पनि प्रशासनले बनाउनुको साटो ठेक्का लगाएर प्रतिकेजी ३९ रुपैयाँले दैनिक १५ हजार केजी मासिक ५ लाख ४८ हजार रुपैयाँको अक्सिजन निजी क्षेत्रबाट खरिद गरेर ल्याउने गरेको पाइएको हो ।

नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनले १ करोड ७ लाख रुपैयाँ लागतमा कोभिड १९ को बेला कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट २०७८ असोज १५ गते निर्माण गरिदिएको थियो । त्यसबेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उक्त प्लान्टको उद्घाटन गरेका  थिए । करिब एक वर्ष बढी सञ्चालन भएपछि अक्सिजन प्लान्टको सामान्य तार बिग्रिएको हो ।

दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन हुने उक्त प्लान्ट गत जेठ अन्तिम साता बिग्रिएको थियो । कोशीको सर्जिकल भवन निर्माणको क्रममा तार काटिएर ग्यास प्लान्ट बिग्रिएको अस्पतालका टेक्निसियन बताउँछन् । तार ल्याएर जडान गरेमा सञ्चालनमा आउने प्लान्ट नबनाएर ठेक्कामार्फत् निजी क्षेत्रबाट अक्सिजन खरिद गरेर अस्पताललाई लाखौं रुपैयाँ व्ययभार थप्न प्रशासन लागिपरेको छ ।

३ सय ५० शøयाको कोशी अस्पतालमा दैनिक ४ देखि ५ सय केजी अक्सिजन खपत हुने गरेको छ । गत जेठ महिनामा मासिक १५ हजार केजी अक्सिजन खपत भएको अस्पतालको अभिलेखमा देखिन्छ । ३९ रुपैयाँ प्रतिकेजीले शङ्कर अक्सिजन ग्यास काठमाडौंले ठेक्का पाएको छ । शङ्कर अक्सिजनले कोशी अस्पतालमा आवश्यक पर्ने लिक्विड ग्यास ल्याउने गरेको छ । अस्पतालको अहिले सर्जिकल भवन बन्दैछ ।

भवन निर्माणको क्रममा अक्सिजन सप्लाइ हुने तार काटिएको थियो । तार काटिएको एक वर्ष बितिसक्दा पनि अस्पताल प्रशासनले जडान गरी सञ्चालन गर्नुको साटो ठेक्का लगाएर निजी क्षेत्रबाट अक्सिजन खरिद गरेको महिनौं भएको छ । यसरी मासिक ५ लाख बढीको अक्सिजन खरिद गर्दा अस्पताललाई वार्षिक करिब ६० लाख अतिरिक्त व्ययभार हुने गरेको देखिन्छ । ‘निर्माणको क्रममा अक्सिजनको तार काटिएर अहिले बिग्रिएको हो । पाइप बिछ्याएर तार जोडिए पहिलाजस्तै शøयाहरूमा अक्सिजन सप्लाइ हुने थियो । तर, अस्पताल प्रशासनले मर्मतमा ध्यान नदिएर निजी क्षेत्रबाट अक्सिजन खरिद गर्न लागिपरेको देखिन्छ’–अस्पतालका एक जना कर्मचारीले भने ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट (मेसु) डा. चन्द्रभाल झाले नयाँ भवन निर्माणको क्रममा अक्सिजन प्लान्टको तार काटिएकाले बनाउन लागिपरेको बताए । ‘अक्सिजन प्लान्टको तार काटिएपछि ग्यास सप्लाइमा समस्या आएको थियो’  उनले भने, ‘निर्माण भइरहेको छ । केही दिनभित्रमा अक्सिजन प्लान्टबाटै अक्सिजन उत्पादन भई सप्लाइ हुनेछ ।’ प्लान्ट सञ्चालनमा आएपछि बाहिरबाट अक्सिजन मगाउन बन्द हुने उनले बताए ।

कोशीको अक्सिजन प्लान्टबाट उत्पादन हुने एउटा सिलिण्डर ४८ केजीको हुने गरेको छ । अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्वपट्टि रहेको मेन लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको थियो । त्यसपछि आकस्मिक, अर्थो, कोभिड वार्ड, आइसियू, मेडिकल र जेनेरल वडामा अक्सिजन जाने सिस्टमको विकास गरिएको छ ।