विराटनगर । आँखा पाक्ने रोगको प्रकोपले विराटनगरको आँखा अस्पतालहरूमा सातायता बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् । यहाँका विराटनगर आँखा अस्पताल, दिव्य ज्योति, विराट, गोल्छा, तापडियालगायतका आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ ।

भाइरल र ब्याक्टेरियाको सम्मिश्रणले आँखा पाक्छ । यो सरुवा रोग हो । गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको दिव्यज्योति अस्पतालका पाइन्छ । प्रायःजसो बिरामीहरू आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामी बढेको विराटनगरस्थित दिव्यज्योति अस्पतालका नेत्ररोग विशेष डा. अभिषेक सुवालले बताए ।

‘आएका बिरामीहरूमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखाजस्ता समस्या पाइने गरेको छ’ उनले भने ,‘कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने, चिप्प्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छ । कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको सङ्क्रमणले गर्दा हुने गर्दछ ।’

आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित छन् । उनीहरूको आँखा पाकेकै कारण नियमित पठन–पाठन तथा काममा असर परेको छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै सङ्क्रमण फैलिइरहेको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन ।

विद्यालयदेखि सरकारसम्म मौन छन् । मानव शरीरको महŒवपूर्ण अङ्ग आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन । अनियन्त्रित बनेको सङ्क्रमण फैलन नदिन सतर्कता अपनाइएको छैन ।

विद्यालयहरूमा विद्यार्थीको आँखा पाक्ने समस्या प्रकोपजस्तै देखिएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले बताए । ‘एउटा विद्यालयमा दैनिक १५ जनाभन्दा बढी विद्यार्थी आँखा पाक्ने समस्या लिएर आउँछन् । सामान्य समस्या हुने विद्यार्थीलाई चश्माको प्रयोग गर्न आग्रह गरिएको छ’ उनले भने, ‘आँखा पाकेर पोल्ने तथा दुख्ने समस्या भएकालाई दुई–चार दिन विद्यालय नआउन आग्रह गर्ने गरिन्छ । विद्यार्थीमा व्यापक फैलिइरहेका कारण अब कसो गर्नेभन्ने छलफल प्याब्सनमा गरेर निर्णय लिन्छौँ ।’

आँखाको सङ्क्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने दिव्यज्योति अस्पतालका निर्देशक देवा यादवले बताए । ‘परिवारमा एउटालाई समस्या हुँदा अर्कोलाई चाँडो सर्छ । विद्यालयमा समूहमा पढाइ हुने हुँदा बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ’ यादवले भने, ‘सार्वजनिकस्थलमा सावधानी नअपनाउँदा झन् समस्या बढ्दो छ । सङ्क्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्छ ।’

यसरी गर्ने उपचार
एलर्जिक कन्जन्टेभाइटिसको उपचार भनेको रोगबाट बच्ने उपायको अवलम्बन गर्नु नै प्रमुख उपाय भएको ज्योति अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालले बताए ।  चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्ने उनले बताए ।

‘ब्याक्टेरीयल सङ्क्रमणमा भने एन्टिबायोटिकको प्रयोग गरिन्छ । आँखा चिलाउने तथा सुख्खा भएमा कृत्रिम आँसुको प्रयोग गरी शीतल र ओसिलो बनाउन सकिन्छ । सामान्यतया चिसो पानी वा बरफले रुमाल भिजाएर आँखा सेक्नु लाभदायक हुन्छ । एलर्जिक कन्जन्टेभाइटिसबाट पीडित केटाकेटीहरूलाई बढी घाम, धुलो र धुवाँबाट जोगाउनु उपयुक्त हुन्छ’ डा. सुवालले भने, ‘यसको लागि कालो चश्माको प्रयोग गर्न सकिन्छ । केटाकेटीहरूलाई नियमित चिसो पानीले अनुहार र आँखा धुन सिकाउनु पर्दछ ।’

एलर्जिक कन्जन्टेभाइटिसको उपचारको लागि फार्मेसीमा विभिन्न किसिमका औषधिहरू पनि उपलब्ध रहेको उनले बताए ।