विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकको लापरबाहीले खुट्टामा ‘हिप ज्वाइन्ट’ को शल्यक्रिया गरेका बिरामीको मृत्यु भएको छ ।

प्रतिष्ठान प्रशासनको छलफलमा हेल्चेक्र्याइँका कारणले मृत्यु भएको निष्कर्ष निकाल्दै मृतककी श्रीमतीलाई रोजगार दिने मौखिक सहमति भएको आफन्तले बताएका छन् । 

उदयपुर कटारी नगरपालिका–५ सिमसारका २९ वर्षीय राजन विश्वकर्मा खुट्टाको ‘हिप ज्वाइन्ट’ को शल्यक्रिया गर्न असार २७ गते प्रतिष्ठानमा भर्ना भएका थिए । मृतकका जेठान निरबहादुर विश्वकर्माका अनुसार असार २७ गते राजन हिँड्न सक्ने अवस्थामा भर्ना भएका थिए । चिकित्सकसँग शल्यक्रियापश्चात् खुट्टा ठीक हुन्छ, हुँदैन ? भनेर राजनले आफै कुराकानी गरे । चिकित्सकले ‘शल्यक्रिया गरेपछि पहिलेजस्तै हुन्छ, तिमी ढुक्क हुनू’ भनेपछि राजन अस्पतालमा भर्ना भए । राजनको साउन ३ गते प्रतिष्ठानमा शल्यक्रिया गरियो । उनको हाडजोर्नी विभागको टिम ‘बी’ ले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरिसकेपछि उनको होस पनि आयो । होस आउँदा रगत बगिरहेको थियो । चिकित्सकले फोहोर रगत जाने भन्दै राखे ।

शल्यक्रिया गरेको घाउमा पाइप लगाइएको थियो । राजनले शल्यक्रिया गरेको दुई–तीन दिनमा घाउ असाध्यै दुख्यो भन्दा प्रतिष्ठानका चिकित्सकले ‘मर्छस्’ भन्नेसमेत जवाफ दिएको आफन्त भूवन विश्वकर्माले बताए । उनका अनुसार शल्यक्रियापश्चात् लगाइएको पाइप अत्यधिक दुखाइ भएपछि झिकिएको थियो । पाइप झिकेपछि अत्यधिक रक्तश्राव भएको थियो । रगत नरोकिएपछि राजनलाई चिकित्सकले नै सघन उपचार कक्ष (आइसियू) लगेका थिए । राजनको आइसियूमा साउन ७ गते (बुधबार) बेलुका मृत्यु भएको घोषणा गरियो । मृतकका जेठान निरबहादुरले खुट्टाको ‘हिव ज्वाइन्ट) को शल्यक्रिया गर्दा मान्छेको मृत्यु हुनु भनेको चिकित्सकको चरम लापरबाही भएको बताए । ‘खुट्टामा समस्या  भएका राजन आफै  हिँडेर प्रतिष्ठान आएका थिए ।

उपचार गर्दा निको हुनुपर्ने मृत्यु भयो, यो चिकित्सकको चरम लापारबाहीले गर्दा हो’ उनले भने, ‘प्रतिष्ठानसँगको छलफलमा पनि हेल्चेक्र्याइँका कारणले मृत्यु भएको निष्कर्ष निकालियो ।’ प्रतिष्ठानका हाडजोर्नी विभागका डा. पशुपति चौधरीले शल्यक्रिया गरेको ६ दिनमा मृत्यु भएको बताउँदै डेङ्गुका कारणले मृत्यु भएको दाबी गरे । उनले भने, ‘शल्यक्रिया गरेको ६ दिन भएको र डिस्चार्जको समय भएको थियो । बिरामीलाई शौचालय जाँदा अचानक रिङटा लाग्यो । परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको र प्लेटलेट्स कम भएकाले आइसियू सारियो ।’ तर, मृतकका आफन्त भूवन विश्वकर्माले भने मृतक राजनलाई ज्वरो नआएको र डेङ्गुको कुनै लक्षणसमेत नदेखिएको बताए ।

यता प्रतिष्ठानले भने शल्यक्रियामा हेल्चेक्र्याइँका कारणले मृत्यु भएका राजनको डेङ्गुका कारणले मृत्यु भएको विवरणसमेत सार्वजनिक गरेको छ । चिकित्सकको लापरबाहीका कारणले राजनको मृत्यु भएकाले आफन्तले प्रतिष्ठानसँग विभिन्न मागहरू राखेका थिए । मृत्यु प्रकरणमा प्रतिष्ठानका डा. इन्द्रकुमार लिम्बूको संयोजकत्वमा गठित समितिले उपचारमा लागेको खर्च र एम्बुलेन्स खर्च प्रतिष्ठानले व्यहोर्ने, मृतकका दुई नाबालक छोरीलाई प्रतिष्ठानमा निःशुल्क उपचार गरिदिने सहमति गरेको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेल पनि समितिको सदस्य छन् ।

मृतककी श्रीमती सुमित्रा विश्वकर्मालाई प्रतिष्ठानमा रोजगार दिने मौखिक सहमति भएको छलफलमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दलमर्दन कामीले जानकारी दिए । घटनाका विषयमा प्रतिष्ठानका रजिष्ट्रार सूर्य सङ्ग्रौलाले आफू छुट्टीमा रहेको र आउँदै गर्दा घटनाका विषयमा छलफल भएको मात्र जानकारी पाएको बताए । उनले घटनाका विषयमा अनभिज्ञता प्रकट गर्दै निर्देशकलाई बुझ्नुपर्ने बताए । मृत्युपश्चात् छलफल गराएका प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसादले सूचना एकद्वार प्रणालीबाट दिने गरेको बताउँदै पन्छिए । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलले मृत्यु प्रकरणको विषयमा छलफल भई सहमति भइसकेको बताए । उनले के कति विषयमा सहमति भएको भन्नेबारे खुलाउन चाहेनन् । उनले सहमतिबारे प्रवक्तालाई बुझ्न अनुरोध गरे । प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले फोन सम्पर्कमा आफू छुट्टीमा भएकाले केही जानकारी नभएको बताइन् ।