विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दुर्लभ शल्यक्रिया भएको छ । जन्मदै खानाको नली नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो ।

विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य चिकित्सक डा. हिरामणि पाठक नेतृत्वको डा. बात्सल्य अज्र्याल, डा. रक्षा सङ्ग्रौला, डा. दीपराज उपाध्याय र डा. सोनिया दाहालको चिकित्सक टिमले खानाको नली नबनेको नवजात शिशुको सफल शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या पाँच हजारमा १ जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।

उदयपुरको बेलका नगरपालिका–६ की सम्झना राईले ५ साउनमा प्रसूति सेवा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा लिएकी थिइन् । त्यहाँ भेन्टिलेटरसहितको एनआइसियू नभएपछि नवजात शिशुका बुबा मणिराज मगरले ५ साउनमा विराट नर्सिङ होममा लिएर आए । हस्पिटल ल्याउँदा नवजात शिशुको अवस्था नाजुक रहेको थियो । बाल शल्यचिकित्सक डा. पाठक नेतृत्वको टोलीले नवजात शिशुको खानाको नली नबनेकोले शल्यक्रिया गरी खानाको नली श्वास नलीसँग जोडिएको हो ।

‘एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भयो’ बाल शल्य चिकित्सक डा. पाठकले भने, ‘यस प्रकारको समस्या अन्यन्तै दुर्लभ हो । यो जटिल अवस्थामा हुने भएको कारणले हस्पिटल आएको आधा घण्टाभित्र अप्रेसन थिएटरमा नवजात शिशुलाई लगेर शल्यक्रिया गरिएको हो ।’ विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए । ‘खानाको नली नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया हो’ उनले भने, ‘सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सकिएको छ ।’

एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई बिहीबार डिस्चार्ज दिएको छ । शशुको स्वास्थ्य अवस्था राम्रो रहेको डा. पाठकले बताए । ‘जन्मजात नवजात शिशुमा समस्या थियो । खानाको नली बनेको थिएन । खानाको नली नबनेकोले शल्यक्रिया गरी खानाको नली श्वास नलीसँग जोडिएको छ । यो जटिल अप्रेसन हो । यो सूक्ष्म तरिकाले अप्रेसन गर्नुपर्ने हुन्छ । चिकित्सकको टिमले त्यहीअनुसार सफल शल्यक्रिया गरेको छ’–बाल शल्य चिकित्सक डा. पाठकले भने ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । ‘अब विराट मेडिकल कलेजमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’

मगर दम्पतीको दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएका थिए । उपचारपछि डिस्चार्जको तयारीमा रहेका नवजात शिशुका बुबा मणिराज मगरले छोरीलाई बचाउन उपचारमा खटिने चिकित्सकको टिमलाई धन्यवाद दिए । ‘धरानबाट विराटनगर पु¥याए पनि अन्य हस्पिटल उपचार नहुने भएपछि विराट नर्सिङ होममा लिएर आएको थिएँ । यहाँ ल्याएपछि सफल उपचार पनि भयो र छोरीलाई बचाउनुहुने चकित्सकको टिमलाई धन्यवाद व्यक्त गर्दछु’–उनले भने ।

६ महिनामा १५० जना नवजात शिशु र बालबालिकाको शल्यक्रिया
विराट मेडिकल कलेज र विराट नर्सिङ होममा ६ महिनाको अवधिमा १ सय ५० भन्दा बढी नवजात शिशु र बालबालिकाको सफल शल्यक्रिया भएको छ ।

उपचारमा संलग्न बाल शल्य चिकित्सक डा. हिरामणि पाठकका अनुसार शल्यक्रिया गरिएकामध्ये २६ वटा नवजात शिशु र बाँकी बालबालिकाहरू थिए । ‘अहिले नवजात शिशुमा गरिएको यो शल्यक्रियामध्ये पनि एक दिनको नवजात शिशुको जटिल र दुर्लभ शल्यक्रिया हो’ उनले भने, ‘यसअघि पनि नवजात शिशुमा मलद्वार नभएको, आन्द्रा फुटेकोलगायतका नवजात र बालबालिकाहरूको शल्यक्रिया गरिएको छ ।’

अब शल्यक्रिया गरिनुपर्ने नवजात शिशु काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको पनि उनले सुनाए । ‘शल्यक्रिया गरिनुपर्ने नवजात शिशु लिएर काठमाडौँ जानुपर्ने अवस्थाको अब अन्त्य भएको छ’ उनले भने, ‘नवजात शिशुको पनि शल्यक्रिया अब विराटनगरमा हुन्छ ।’