वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा अहिले डेङ्गु रोगका बिरामीको सङ्ख्या बढेको छ । नगरपालिकाको चतरा अस्पताल र नगर अस्पताल चक्रघट्टीमा बिरामीको चाप तीव्र गतिमा बढेको हो ।

साउन महिनाको १ गतेदेखि १० गतेसम्म चतरा अस्पतालमा ३ सय १२ जनामा गरिएको परीक्षणमा ६१ जनामा डेङ्गु पोजेटिभ देखिएको चतरा अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले बताए । चतरा अस्पताल रहेको नगरपालिकाको वडा नं. १ र २ मा ५ वर्षे बालकदेखि लिएर ७२ वर्षसम्मका ज्येष्ठ नागरिक डेङ्गुबाट पीडित भएका कार्यालय प्रमुख कट्टेलले जानकारी दिए ।

उता नगरपालिकाको कार्यालय रहेको नगर अस्पतालमा समेत डेङ्गुका बिरामीको सङ्ख्या बढेको छ । २ सय ३० जनामा गरिएको परीक्षणमा ४१ जनामा रोग पोजेटिभ देखिएको छ । नगरको १ देखि ११ वटै वडाका २५ पुरुष र १६ महिला डेङ्गु सङ्क्रमित रहेको नगर अस्पतालका सह–व्यवस्थापक दिवस विष्टले जानकारी दिए ।

डेङ्गु नियन्त्रणको लागि नगरले ११ वटै वडामा जनचेतना र विषादी छर्ने कार्यलाई तीव्रता दिएको नगरप्रमुख रमेश कार्कीले बताएका छन् ।

यसैगरी वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतमले वडावासीको लागि फगिङ मेसिन खरिद गरिएको र वडाभरि नै लामखुट्टे मार्ने अभियान चलाइने बताए ।