देउराली । असार ३ गते आएको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको मोटरेवल पुल बगाएपछि उक्त स्थानमा निर्माण थालिएको बेलीब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएकोको छ ।
४ गते बाटै निर्माण थालिएको बेलीब्रिज २८ दिनपछि निर्माण सम्पन्न भई आजबाट सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताएका छन् ।
बाढीले मोटरेवल पुल बगाएपछि पाँचथर र ताप्लेजुङको ‘लाइफलाइन’ मेची राजमार्ग अवरुद्ध हुँदा दुई जिल्लामा यातायात सञ्जाल विच्छेद भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङ, ताप्लेजुङका सांसद योगेश भट्टराईलगायतले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
दुई हप्तामै निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण थालिएको भए पनि समयमै पुल निर्माण सम्पन्न नहुँदा ताप्लेजुङमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र खाद्यान्नको अभाव हुन थालेको भन्दै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका थिए।
यस बिच करिब पाँच पटक डाइभर्सन गरेर खाद्यान्न, ग्यास तथा पेट्रोलियम पाँचथर र ताप्लेजुङ पुर्याइएकोमा आजबाट बेलीब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएकोले अब कुनै चिन्ता नरहेको प्रमुख जिल्ला अधिकारी मग्रातीले बताए ।
उनका अनुसार केही समय साना सवारी साधनलाई चलन दिइएको भए पनि बेलीब्रिजको क्षमताले धान्ने खाले ठुला सवारीसाधन पनि सञ्चालन गर्न सकिने छ ।