भद्रपुर । पर्साको रक्सौल नाकाबाट आयात गरिएको सडेगलेको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गर्दा शनिबार दिउँसो शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारस्थित पूर्वपश्चिम राजमार्गमा अस्थायी प्रहरी पोस्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा आइसको कमी भई सडे गलेको रहु र कार्प जातको माछा अन्दाजी १४सय किलो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पशु क्वारेनटाइन कार्यालय गौरीगञ्ज कार्यालयबाट खटिएको प्राविधिक टोलीले चेकजाँच गर्दा माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको भनी जानकारी गराएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालय परिसरभित्र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले आइस मै रहेका खानयोग्य माछा र गाडी भने छाडिएको जानकारी दिए ।
पर्सा रक्सौल नाकामा पशु क्वारेनटाइन गराई भन्सार प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित माछा ल्याउने क्रममा शनिबार बिहान सप्तरी खडक नगरपालिका वडा नम्बर ३ बनर्झुला गेटस्थित पूर्वपश्चिम राजमार्गमा माछा बोकेको मधेस प्रदेश ०३–००१ च ७५१० नम्बरकाे पिक अप गाडी आफै अनियन्त्रित भई पल्टिएको थियो । गाडी पल्टिदा माछा, आइस छरपस्ट भएको र उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी झापातर्फ ल्याइएको थियो ।