धरान । कोशी प्रदेशको विभिन्न स्थानमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । 

धनकुटा संवाददाता सन्तवीर लामाका अनुसार धनकुटा नगरपालिका–९ मुलघाटबाट सहिदभूमि गाउँपालिकाको वडा नं.९ सफाइधापतर्फ जाँदै गर्दा दुर्घटनामा परी शुक्रबार एकजनाको ज्यान गएको हो ।

को.६ प.२१४९ नम्बरको मोटरसाइकलमा सवार सहिदभूमि गाउँपालिका–१ का अन्दाजी वर्ष ६५ का गोपाल राईको ज्यान गएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बिहीबार साँझतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक राईको टाउकोमा गम्भीर चोट लागेको र अत्याधिक रक्तस्रावका कारण तत्काल अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोटरसाइकल चालक छिमेकी २७ वर्षीय पूर्ण कटवाल गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

घाइते कटवाल बिहीबार यातायात कार्यालय धनकुटामा मोटरसाइकलको ट्रायल दिन आएका थिए । चालक कट्वालले मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बर वडास्थित माछामारामा पिकअप भ्यान दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् भने आठजना घाइते भएका छन् ।

शुक्रबार धरानबाट साँगुरीगढी धनकुटातर्फ जाँदै गरेको को १ ज १८११ नम्बरको पिकअप भ्यान ब्रेक फेल भई सडक साइटमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको  छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख इन्स्पिेक्टर श्यामकुमार बस्नेतका अनुसार भ्यानमा सवार धनकुटा सागुरीगढी गाँउपालिका–८ की १९ वर्षीया सपना राई गम्भीर घाइते भएकी छन् ।

गम्भीर घाइते राईको छातीमा चोट लागेको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको उनले जानकारी दिए । सामान्य घाइते हुनेहरूमा साँगुरीगढी–८ मा शिशिर राई, १५ वर्षीय अबिनास राई, ३८ वर्षीय रहरमान राई, ३१ वर्षीया पुर्णीमाया राई र सुखमाया राई रहेका छन् ।

यस्तै धनकुटा सहिदभूमि गाउँपालिका १ का २२ वर्षीय बिन्जल राई छन् । धरान–२० का ४१ वर्षीया सर्मिला राई र ४४ वर्षीय कृष्ण राई सामान्य घाइते भएको इन्स्पेक्टर बस्नेतले जानकारी दिए ।

उनीहरू सबैको प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पिकअप चालक साँगुरीगढी–८ का ३५ वर्षीय सुमन राईलाई अस्थाई प्रहरी पोस्ट विष्णुपादुकाले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । 

यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा शुक्रबार बिहान ट्रक खसेको छ । ब्यारेजको ढोका नम्बर १० बाट  मे१ ख ३००७ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश सिंहले जानकारी दिए ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकआपसमा ठोक्किँदा ट्रक कोशी नदीमा खसेको हो ।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ । कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ ।