भद्रपुर । बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले ५ नम्बर वडाका सचिव विमल पोखरेललाई कारबाही गर्ने निर्णय गरेपछि त्यसविरुद्ध वडासचिवहरू आन्दोलित भएका छन् ।
निर्णयविरुद्ध नगरका १० वटा वडाका वडा सचिवहरू आन्दोलित भएका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई शुक्रबार ज्ञापन–पत्र बुझाउँदै वडा सचिव पोखरेललाई अन्यत्र सरुवा गरे आफूहरू उक्त वडामा जान तयार नभएको जनाएका छन् ।
नगरका १० वटै वडाका वडा सचिवहरू नगरपालिकाले फेरबदल गरे अन्य सबै वडामा जान तयार रहेको तर, ५ नं. वडामा हाजिर भई कामकाज गर्न नसक्ने ज्ञापन–पत्रमार्फत् चेतावनी दिएका छन् ।
ज्ञापन–पत्र बुझाउँदै उनीहरूले वडा नं. ५ का सचिव पोखरेलले समय पालना र नियमितताको विषयमा आफ्नो गल्ती स्वीकार गरी सच्चिएर जान्छु भन्दा पनि वडाध्यक्ष रोहित प्रसाईंले व्यक्तिगत रिसइवी राखेका जनाएका छन् ।
अनावश्यक मिडियाबाजी गर्ने, स–साना विषयमा रिस राखी अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने र नियम कानूनभन्दा विपरीतको काम गर्न दबाव दिने गरेको जस्ता कारणले कर्मचारी हतोत्साही हुनुका साथै कामकाजमा समेत बाधा पुग्ने देखिएको जनाए ।
बिहीबार बसेको कार्यपालिका बैठकले वडा सचिव पोखरेललाई कारबाही गर्ने गरेको निर्णयप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन–पत्रमा जनाइएको छ ।
ई–हाजिरीलाई आधार मानेर कारबाही गर्ने हो भने भोलि आइपर्ने बाढी, पहिरो, आगलागी, डुबानजस्ता प्राकृतिक प्रकोप तथा महामारीजस्ता विषम परिस्थितिमा कार्यालयभन्दा बाहिरको समयमा वडा सचिवले काम गर्ने कि नगर्ने ?
कार्यालय समयभन्दा बाहिर बिहान बेलुका गरेको स्थलगत कार्यको मूल्याङ्कन हुने कि नहुने, ई–हाजिरीको आधारमा कारबाही गर्दा नगरपालिकामा कार्यरत सबै कर्मचारीहरूको हाजिरी चेक गर्ने कि नगर्ने जस्ता प्रश्न खडा भएको उनीहरूले जनाएका छन् ।
त्यस्तै झापा जिल्ला वडा सचिव हकहित मञ्चले पनि एक प्रेस विज्ञप्ति जारी गरी वडा सचिव पोखरेललाई साधारण प्रक्रिया वा विना प्रक्रिया, नीति नियमविपरीत, कर्मचारीलाई नसिहत दिने, मानहानि गर्ने, अपहेलना गर्ने, आत्मबल गिराउनेजस्ता अमानवीय व्यवहार कसैबाट भएको पाइएमा त्यसको विरुद्धमा जिल्लामा भएका १ सय ३१ वटै वडा कार्यालयबाट विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
मञ्चका अध्यक्ष भोसकुमार थुलुङ र सचिव खगेन्द्रप्रसाद लिङ्देनले जारी गरेको विज्ञप्तिमा जनतासँग सबैभन्दा पहिला सम्पर्कमा आउने जनताको हरेक सुख–दुःखमा समय पावन्दीविना रातबिहान सेवा प्रवाहमा तल्लीन हुने वडा सचिवहरूलाई सानोतिनो कमजोरी तथा बाध्यतामा, मनमुटावमा, अपहेलना गर्ने, गालीगलौज गर्ने, बेइज्जत गर्ने, व्यक्तिगत जीवनमा असर पु¥याउनेजस्ता क्रियाकलापको घोर भत्र्सना गरिएको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने, कार्यालयमा पटक–पटक ढिलो आउने, चाँडो जाने तथा कार्यालय समयमा कार्यालयको कामबाहेक स्वीकृति नलिई कार्यालय छोड्ने जस्ता विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकले सचिव पोखरेलको ई–हाजिरी तथा हाजिरी पुस्तिकाबाट आवश्यक अभिलेख लिई स्वीकृति विनाको अनुपस्थिति, बिदा, आवश्यक हुनुपर्ने कार्यालय समयावधिको हिसाब गरी निजामती सेवा नियमावली २०५० को नियम ५५ बमोजिम नपुग समयको गयलकट्टी गर्नेसमेत निर्णय गरेको थियो । बैठकले वडानम्बर ५ मा अब अर्कै वडा सचिवले कामकाजको जिम्मा पाउने गरी नगरभित्रकै कुनै वडाबाट एक जना सचिव उक्त वडामा पठाउने निर्णय गरेको थियो ।
वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कारबाहीमा असर परेको भन्दै वडाध्यक्ष प्रसार्इंले गत मङ्गलबारदेखि नगरपालिकाको कार्यालयअगाडि टेवल, कुर्सी राखेर धर्ना सुरु गरेका थिए । बैठकले माग सुनुवाइ गरेका कारण धर्नाको कार्यक्रम स्थगित गरी शुक्रबारदेखि वडा कार्यालयबाटै सेवा सुचारु गरेका छन् ।