बिर्तामोड । पछिल्लो समय विदेश पढ्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको समयमा भारतको एक कलेजले २ सय विद्यार्थीका लागि १६ करोड छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।   

भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यस वर्ष नेपाली विद्यार्थीका लागि १६ करोड रकमको छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

नेपाली संस्कृतिसँग मेल खाने वातावरण भएका कारण विगत लामो समयदेखि सो कलेजमा नेपाली विद्यार्थीहरूको आकर्षण बढी देखिन्छ । युनिभर्सिटीका नेपाल प्रतिनिधि शङ्कर भट्टराईले बिर्तामोडमा पत्रकार सम्मेलन गरी नेपाली विद्यार्थीका लागि यो छात्रवृत्तिले पठन–पाठनमा सहज हुने बताएका छन् ।

नेपालबाट यस वर्ष २ सय विद्यार्थी अध्ययनका लागि लैजाने योजना बनाएको सो युनिभर्सिटीले १६ करोड छात्रवृत्ति प्रदान गर्ने भएको हो । गतवर्ष ८ करोड रकमको छात्रवृत्ति उपलब्ध गराएको युनिभर्सिटीमा ७० जना विद्यार्थी अध्ययनका लागि गएका थिए ।

युनिभर्सिटीमा नेपाल, भुटान, बङ्गलादेश, म्यानमार, अफ्रिकाका केही देश, ताइवानलगायतबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । नेपालबाट होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकललगायत प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण रहने गरेको छ ।

छात्रवृत्ति उपलब्ध गराउने विश्वविद्यालयले अध्ययन अवधिभर अन्य शुल्क नलिने जनाएको छ । शतप्रतिशतदेखि ५० प्रतिशतसम्म छात्रवृत्ति पाउने पत्रकार सम्मेलनमा नेपाल प्रतिनिधि भट्टराईले बताए ।

उनले नेपाली विद्यार्थीले आवास र खानाको मात्र पैसा व्यवस्थापन गरे पुग्ने जानकारी दिए । विश्वस्तरीय कलेज भएका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षण त्यस कलेजमा हुने गरेको छ ।

भारतमै रोजगार गर्न चाहने विद्यार्थीलाई कलेजले समन्वय गरेर रोजगार उपलब्ध गराउने काम पनि गर्दैे आएको भट्टराईले बताए । पूर्वी नेपालबाट नजिकै पर्ने सो कलेजमा हालसम्म १ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि गएको बताइएको छ ।