विराटनगर । अविरल वर्षासँगै आएको सिंघिया खोलाको बाढी विराटनगरको तीन वडाको सुकुम्बासी बस्तीमा पसेको छ । लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला, विराटनगर २ को सुकुम्बासी र विराटनगर ८ को सुकुम्बासी बस्तीमा पसेको हो ।
सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पस्दा अधिकांश क्षेत्र डुबानमा परेको विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिए । बाढी बस्तीमा पस्दा विराटनगर १ गंगा टोल र विराटनगर २ को सुकुम्बासी बस्तीको एक दर्जन बढी घर डुबानमा परेको उनले बताए ।
विराटनगर ८ स्थित बाल गोपाल टोलमा मात्र सुकुम्बासी बस्तीमा सिंघिया खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले बताए । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारेको उनले सुनाए । डुबानमा परेकालाई त्रिपाल टाँगेर अस्थायी रूपमा सुरक्षित स्थानमा राखिएको बताए ।
विराटनगरको ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार कार्य गरिरहेको छ । यस्तै, कटहरी र जहदा गाउँपालिका भित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।